काठमाडौं।साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु एकै दिन सार्वजनिक भएका छन । युवा पंक्तिका लोकप्रिय साहित्यकार श्रेष्ठका तीन कृतिहरु लकडाउन, डोब, र नाङ्गो सपना राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको हो ।
शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको अनावरण गरेका थिए । बौद्धिक लेखक श्रेष्ठले जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ ।

विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपिनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुती रहेको उल्लेख गरे । जापानी शैलीका कविताहरु र जापानी जीवनशैलीबारे उनले चर्चा गरे ।
यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुती रहेको उल्लेख गरे ।
यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गरे । यस्तै कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाइ राखेका थिए । कार्यक्रम साहित्यकार लव गाउँलेले सञ्चालन गरेका थिए ।





