भरतपुर । नेपाल क्रिकेट सङ्घ (क्यान)को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो ।
आज बिहान भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।
क्रिकेटको भावी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको चन्दले बताए । देशभरका पदाधिकारीलाई भाग लिन सहज होस् भनेर चितवनमा राखिएको उनले जानकारी दिए । उन्नाइस जना सदस्य रहेको बोर्डमा धेरै काठमाडौँ बाहिरका छन् । बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ । यस्तै विगत र वर्तमानको समीक्षा गर्दै खेलाडीको प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सहभागिताका विषयमा पनि छलफल हुने चन्दले बताए ।




