ताजा समाचार

उद्योग वाणिज्य संघद्वारा ट्राफिकलाई कोन हस्तान्तरण

दमौली । दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले तनहुँ उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कोन हस्तान्तरण गरेको छ ।

संघले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत ट्राफिक प्रहरी कार्यालयलाई २५ थान कोन हस्तान्तरण गरेको हो । संघका अध्यक्ष मानकाजी श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटलाई उक्त कोन हस्तान्तरण गरे ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले दुर्घटना न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिदैं निःस्वार्थ रुपमा सेवा गर्ने सामाजिक संस्था भएकाले यस्ता काममा संघको सदैव सहयोग रहने विश्वास व्यक्त गरे ।

तनहुँ उद्योग संघका अध्यक्ष मानकाजी श्रेष्ठले दुर्घटना न्यूनीकरणको अभियानमा संघले सदैव सहकार्य गर्न तयार रहेको बताउँदै प्रहरी एक्लैको प्रयासले मात्रै दुर्घटना न्यूनीकरण सम्भव नरहेकाले यस अभियानमा सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको छ भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले सबैको सहयोग रहे ट्राफिक व्यवस्थापन सृदृढ बनाउन सकिने र त्यसका लागि संघले पुर्‍याउँदै आएको सहयोग उदाहरणीय रहेको बताए । तनहुँलाई ट्राफिक व्यवस्थापनमा गण्डकी प्रदेशकै नमूना जिल्ला बनाउने अभियानमा आफू लागिपरेको उनको भनाइ छ ।

संघबाट प्राप्त कोन सफा सडक, भोर्लेटार चोक, प्रहरी कार्यालय अगाडि राखिनेछ । बजार क्षेत्रमा जथाभावी पार्किङ गर्नेक्रम बढेकाले प्रहरीले अब चेन र ह्विल लकको अवधारणा ल्याउन लागेको प्रमुख रानाभाटले बताए । “जहाँपायो त्यही गाडी, मोटरसाइकल रोक्यो, सवारी चालक कता जान्छन् थाहा हुँदैन, अब त्यस्तालाई कारवाही गर्न चेन र ह्विल लकको अवधारणा ल्याउँछौँ ।”, उनले भने, “नियम उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ ।”

सामाजिक उत्तरदायित्व बहनअन्तर्गत दुर्घटना न्यूनीकरण अभियानमा संघले विगतमा पनि प्रहरीलाई सहयोग गर्दै आइरहेको प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले जानकारी दिए । दमौली बजार इकाइ सभापति राजकुमार श्रेष्ठ (राकु)ले दमौली बजारमा ‘नो हर्नः नो ओभरटेक’ अभियानका क्रममा पनि प्रहरीलाई सङ्केत सामग्री सहयोग गरिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *