ताजा समाचार

बैशाख महिनायता ३७४ जनाको मृत्यु, १०१ जना वेपत्ता र ४२१ जना घाइते

काठमाडौँ- मुलुकभर बाढी/पहिरोबाट ४९ जिल्लाका ४७४ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावित जिल्लामा मानवीय क्षतिसमेत भएको छ । गृहमन्त्रालयबाट प्राप्त विवरण अनुसार गत बैशाख महिनायता विपद्जन्य घटनाबाट ३७४ जनाको मृत्यु, १०१ जना वेपत्ता र ४२१ जना घाइते भएका छन् । यसवर्ष पहिरोले बढी क्षति भएको छ । अकल्पनीय रुपमा माथिबाट भेल पहिरो आएर गाउँनै सोहोरेर लगेका घटना यसपाली पटकपटक दोहोरियो । बाग्लुङ, बझाङ, पर्वत र सिन्धुपाल्चोकलगायत जिल्लामा त्यसखालका घटना हुन पुगेका हुन् ।

संसदको राज्यव्यावस्था तथा सुशासन समितिको आजको बैठकमा विपद्जन्य घटना र त्यसलाई रोक्न सरकारले गरेको प्रयासबारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले भने , “सोच्दै नसोचेको स्थानमा पहिरो गएर ठुलो मानवीय क्षति बेहोर्नुपरेको छ, सम्बन्धित विज्ञसमेत अनुमान लगाउन सक्ने अवस्थामा छैनन्, घटनाको अध्ययन भइरहेको छ ।” समितिमा आज तेस्रो पटक विपद्का विषयमा छलफल भएको हो ।

यसपाली विपदजन्य घटनाबाट सिन्धुपाल्चोक बढी प्रभावित भएको छ । मानवीय क्षति पनि सिन्धुपाल्चोकमा नै बढी छ । यसपाली वार्षिक औषत भन्दा यो समयमा २४० प्रतिशत बढी पानी परेको छ । पानी पनि कुनै एउटा क्षेत्र विशेषमा २०० मिलिमिटरसम्म पानी परेको मौसमविद्को भनाइ छ । विज्ञका अनुसार १०० मिलिमिटर भन्दा बढी पानी पर्नुलाई बाढी पहिरोको उच्च जोखिम मानिन्छ ।

मन्त्री थापाले सिन्धुपाल्चोक, पर्वतलगायत जिल्लामा सम्भावना नै नदेखिएको स्थानमा पहिरो खसेको बताए । यस्तै घटन म्याग्दी, बाग्लुङ, बझाङ, बाजुरा, कालिकोटमा घटेको छ । यसवर्ष सबैभन्दा बढी पहिरोले क्षति पु¥याएको छ । पहिरोमा परेर आजसम्म २७१ को मृत्यु भएको छ भने २०६ जना घाइते भएका छन् । बाढीबाट ३९ को मृत्यु भएको तथा चट्याङबाट ६४ जनाको मृत्यु र २०३ जना घाइते भएका छन् ।

समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले घटनाको उद्धार र राहतका कार्यक्रमलाई सँगसँगै लगिएको जानकारी दिए । सांसदले विगतमा जोखिमयुक्त भनिएका वस्ती स्थानान्तरण नहुँदा क्षति बढी भएको जनाउँदै त्यसतर्फ सरकारको ध्यान नपुगेको भन्दै आलोचना गरेका थिए । त्यसको जवाफमा मन्त्री थापाले कतिपय वस्ती स्थानान्तरण गरिएको र कतिपय स्थानीयले नै स्थानान्तरण गर्न नमानेको बताए । “सिन्धुपाल्चोकका जुगलस्थित लिदी जोखिमयुक्त वस्ती भनेर पहिचान गरेर अस्थायी आवासस्थल बनाइएको थियो, रातभर अस्थायी आवासमा बसेर, पहिरो नआउने पक्का गरेपछि विहान घर पुग्दा त्यहाँ दुखद घटना भएको छ”, उनले भने ।

सरकाले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्ने र पुर्व तयारीका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने सांसदको सुझावप्रति गृहमन्त्रालय गम्भीर रहेको र आगामी दिनमा अझै प्रभावकारी बनाउने विश्वास दिलाए । उनले विना मापदण्ड जथाभावी डोजर चलाउनु विपदको एउटा कारण भए पनि त्यो मात्रै कारणले अहिलेको घटना घटेको भन्ने होइन, भने । उनले विपद व्यवस्थापनसँगै हत्या, हिंसा, बलात्कार, आपराधिक घटना नियन्त्रणमा सरकार गम्भिर रहेको र सबै घटनाको आवश्यक अनुसन्धान गरी कानुनी कारवाही अघि बढाइएको बताएका छन् ।

बैठकमा सांसदहरु झपडबहादुर रावल, कृष्णगोपाल श्रेष्ठ, रेखा शर्मा,यसोदा सुवेदी, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, लालबाबु पण्डित, रामसहाय प्रसाद यादवलगायतले आपराधिक क्रियाकलाप र विपद्जन्य घटना रोक्न प्रभावकारीकदम चाल्न सुझाव दिए । बैठकमा सहभागी राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यावस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले सरकार पूर्वयोजनाका साथ क्षति न्यूनिकरण गर्नेतर्फ गम्भिरताका साथ अघि बढ्को बताएका छन् ।

यो पटकको मनसुनजन्य विपदको ९९ औँ दिनमा विगतका तुलनामा धेरै पानी परेकाले विपदजन्य घटना बढेको र विभिन्न क्षेत्रमा हाँडीबाट घोप्टिएको जसरी एकैठाउँमा ठुलो पानी पर्दा क्षति बढी भएको बताएका छन् ।खोला र पहिरोको डोब हेर्दा, माथिदेखिनै सोहोरिएर आएको पाइन्छ, २० देखि ६० फिटसम्म खोला थुनिएर त्यो खुल्दा तल्लो तटिय क्षेत्रमा कल्पना नै नगरिएको घटना भएको छ”, उनले भने , “बाग्लुङ्को कुरा गर्ने हो भने डेढ घण्टामा सात गाउँ साप भएको छ, झोलुङगे पुल मात्रै १७ वटा बगाएको छ ।” उनको अनुसार घटनाको विष्लेषण गर्दा जोखिमको अध्ययन गरेर वस्ती कसरी बनाउने, कहाँ बनाउने भनेर स्थानीय तहले नै योजना निर्माण जरुरी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *