काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले एसिडपीडित युवती मुस्कान खातुनलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा मुस्कान खातुनलाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेर जन्मदिन मनाएका हुन् । मन्त्री भट्टराईले हरेक बर्ष आफ्नो जन्मदिनमा असाहाय तथा पीडितहरुलाई सहयोग गर्दै आएका छन् । यस बर्ष उनले सानै उमेरमा एसिड आक्रमणको सिकार भएकी मुस्कानलाई चयन गरेका थिए । यो सालको जन्मदिन मुस्कानको साथ गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ ।
हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो । जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु । केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ । हार्दिक शुभकामना । उनले आफूले प्रयोग गर्ने समाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
२०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आउनुभएको छ । यसअघि पनि भूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गर्नुभएका मन्त्री भट्टराइले २०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाउनुभएको थियो । ०७४ को जन्मदिनमा मुटुको दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पिडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका उनले ०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्च स्वरुप नगद सहयोग गरेका थिए । त्यस्तै गत वर्षको जन्मदिनमा उनले पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहिन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गरेका थिए ।




