काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विपी कोइराला विश्व परिवेशका साथै माटोको स्पन्दन बुझ्ने राजनेताका रुपमा स्थापित हुनुभएको बताएका छन ।
विपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हरेकपल डट कमले ‘विपी विमर्शका बहुआयाम’ विषयमा करीब दुई महिनासम्म गर्ने संवाद, बहस र विमर्श कार्यक्रमको आज शुभारम्भ गर्दै नेपालका सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार विपी भएको बताए ।
पूर्वराष्ट्रपति डा यादवले विपीको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा मात्र होइन, साहित्य सिर्जनाको क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको बताए । “ठूलो मान्छे होइन, असल मान्छे वन भन्ने विपीको चिन्तन गहिरो अध्ययनको उपलब्धि हो, आज पनि मुलुकका निम्ति विपीका विचार उत्तिकै सामयिक रहेको र भविष्यका लागि पनि सान्दर्भिक रहने छ, विपी बुझ्नु भनेको लोकतन्त्र बुझ्नु हो, स्वतन्त्रता बुझ्नु हो, समानता बुझ्नु हो, विश्वबन्धुत्व बुझ्नु हो, नेपाल बुझ्नु हो, नेपाली स्पन्दन बुझ्नु हो”, उनले भनेे ।
पूर्वराष्ट्रपति डा यादवले विपीका कतिपय आयामको अध्ययन हुनै बाँकी रहेको उल्लेख गर्दै उहाँको पुनर्गठन र पुनर्मूल्याङ्कनको पनि उत्तिकै आवश्यकता रहेको औँल्याए ।
हरेकपल डट कमका प्रधान सम्पादक पुरुषोत्तम दाहालले विपी उहाँकै बेलामात्र होइन, यो बेला पनि उत्तिकै सान्दर्भिक रहेको र भोलिका दिनमा पनि उनका विचार ताजगी लाग्ने बताए । विपीका बहुआयामलाई सबैसमक्ष पुर्याउन हरेकपलले दुई महिना लामो अभियान शुरु गरेको जानकारी पनि उनले जानकारी गराए ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले विपीको राजनैतिक व्यक्तित्व, स्रष्टा व्यक्तित्व र समाजको अस्तित्वको चिन्तन गर्ने पक्षका कारण उहाँ अद्वितीय बन्नुभएको बताए ।
साहित्यकार मञ्जु काँचुली तिवारीले विपीको राजनीतिक विचार, चिन्तन धारणा उनको साहित्यमा लुकेर बसेको उल्लेख गर्दै नसानसामा लुकेर बसेको विचारलाई पाठक र समालोचकले देखाउन वा भेउ पाउन नसकेको बताइन ।
समालोचक ज्ञानु पाण्डेले विपीका उपन्यास सबै चरित्रप्रधान भएको र चरित्रलाई उनले विचारको कुञ्ज वा प्रतीक बनाएर अगाडि सार्नु भएकाले हरेक पात्र एक से एक रहेको बताइन ।
सहकारीका अध्यक्ष विपिन शर्माले विपीका विचारलाई जीवन र व्यवहारमा लागू गर्नु जरुरी रहेको बताए । विसं २०१५ मा पहिलो आम निर्वाचनमा विजयी भएपछि विपीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेर १८ महिनामात्र सरकार चलाएका थिए । उनको शासनकाल अहिले सम्मकै उत्कृष्ट रहेको शर्माले बताए।
हरेकपल डटकमका सम्पादक तथा नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश थापाले प्रसिद्ध राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता विपी कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङ्मयमा नयाँ चिन्तन, आयाम, परम्परा र शैली दिएर सदाका निम्ति अमर बन्नुभएको बताए।
कार्यक्रमको सहजीकरण हरेकपल साहित्यका संयोजक मनोजादित्य न्यौपानेले गरे। ‘विपी विमर्शका बहुआयाम’ कार्यक्रम कोइरालाको जन्मजयन्ती भदौ २४ सम्म हरेक बुधबार दिउँसो १ बजे जुम प्रविधिमार्फत सञ्चालन गरिनेछ । बन्दाबन्दी खुकुलो भएसँगै पहिले बुधबार हुँदै आएको ‘लकडाउन कला संवाद’ कार्यक्रमको ठाउँमा यो नयाँ कार्यक्रम शुरु गरिएको हरेकपल डट कमका सम्पादक थापाले जानकारी दिए ।




