ताजा समाचार

कोरोना कहरबीच देवघाट आए तीर्थालु 

नवलपुर । कोरोना कहरकै बीच आज साउनको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाम आएका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा गर्न आउनका लागि आह्वान गरे पनि नजीकका भक्तजन आएका हुन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाट धाममा तीनै जिल्लाका तीर्थालुको उपस्थिति देखिएको छ । गैँडाकोटबाट देवघाट आउनुभएका विष्णुप्रसाद पौडेलले आफू हरेक वर्ष साउनको सोमबार देवघाटमा आउने गरेकाले यस वर्ष पनि आएको बताए । “सार्वजनिक सवारी साधन सञ्चालनमा छैनन् तर आफ्नै सवारी साधन भएकाले म यहाँ आएको हुँ”, पौडेलले भने, “मेरो घरबाट देवघाट नजीकै पर्ने भएकाले यहाँ आएर भीडभाड नभएका ठाउँमा स्नान गरेर फर्किँदैछु ।”

गत वर्ष देवघाट क्षेत्रमा निकै भीड हुने स्मरण गर्दै पौडेलले यसपटक कोरोना त्रासका कारण मान्छे कम आएको बताए । निजी सवारी साधन भएका व्यक्तिले देवघाट पुगेर स्नान तथा पूजाआजा गर्ने गरेका छन् । यद्यपि केही सार्वजनिक सवारीका साधनले आज देवघाटका लागि तीर्थालु बोकेका छन् ।

यस वर्ष देवघाट क्षेत्र विकास समितिले सूचना नै जारी गरेर तीर्थालुलाई नआउने अनुरोध गरे पनि नजीकैबाट आउने क्रम रहेको विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए। “कोरोना सङ्क्रमणको त्रासका कारण सावधानी अपनाएर यहाँ नआउन भनेका थियौँ”, घिमिरेले भने, “विगतका वर्षहरुमा जस्तो देवघाटमा बोलबम मेला भने लागेको छैन तर नजीकैबाट आउने भक्तजनलाई हामीले रोकेका छैनौँ ।” भौतिक दूरी कायम गरेर स्नान तथा पूजा गर्नका लागि आफूले अवरोध नगरेको घिमिरेले बताए ।

देवघाटमा साउने सोमबार स्नानका लागि विगत वर्षमा ५० हजारभन्दा बढी भक्तजन आउने गरेका भए पनि यस वर्ष भने दुईतीन हजारमा सीमित रहने घिमिरेले बताए। त्रिशूली र कालीगण्डकी नदीको बहाव उच्च भएका कारण सावधानी अपनाएर स्नान गर्न उहाँले आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *