काठमाडौं । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र सचिव डा. योगेन्द्र कुमार कार्की बीच कार्यसम्पादन करार भएको छ । मन्त्री लामा र सचिव कार्कीले आर्थिक वर्ष २०७७-७८ को लागि कार्यसम्पादन करार पत्रमा हस्ताक्षर गरेका हुन ।
आर्थिक वर्ष २०७७-७८ को पहिलो दिन मै वागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीका बीचमा कार्यसम्पादन करार भए लगतै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सचिव बीचमा चालू आर्थिक वर्षको लागि कार्यसम्पादन करारसम्बन्धी पत्रमा शुक्रवार हस्ताक्षर गरिए लगतै मन्त्रालय बागमती प्रदेशमा कार्यसम्पादन करार गर्ने पहिलो मन्त्रालय बनेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हेटौंडामा आयोजित कार्यक्रममा सचिव डा. योगेन्द्र कुमार कार्कीले चालू आ।व।को कार्यक्रम तोकिएको समयमै सम्पन्न गर्ने गरी करारपत्रमा हस्ताक्षर गरी बुझाएका हुन । सोही कार्यक्रममा मन्त्री लामाको समुपस्थितिमा सचिव कार्कीले कृषि विकास निर्देशनालय, हेटौंडाका प्रमुख र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा निर्देशक बीचसमेत कार्यसम्पादन करार गरेका थिए ।
मन्त्रालयको चालु आर्थिक वर्ष २०७७-७८ को लागि नीति कार्यक्रम तथा बजेट पारित भएअनुसार मन्त्रालयले आफ्नो कामकारबाही र कार्यसम्पादनलाई सहज तुल्याउने उद्देश्यले मन्त्री तथा सचिव बीच कार्यसम्पादनसम्बन्धी करारनामा गरिएको प्रवक्ता डा. शरण कुमार पाण्डेले जानकारी दिए ।
कार्यक्रमको समापन गर्दै मन्त्री लामाले चालू आर्थिक वर्षका कार्यक्रमहरु तोकिएको अवधिमा सम्पन्न गर्ने गरी जिम्मेवारी र प्रतिवद्ध भई काम गरेमा मात्र समाजमा समृद्धि र सुसासन कायम हुने र लक्ष्यमा पुग्न सकिने धारणा राखे ।
कार्यक्रममा मन्त्रालय, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका कर्मचारीहरु तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।





