काठमाडौं ।गृहमन्त्रालयले प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) पदका लागि निरजबहादुर शाही र प्रधुम्न कार्कीलाई बढुवा सिफारिस गरेको छ । बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले प्रहरी नायव महानीरिक्षक (डिआइजी) शाही र कार्कीलाई बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने प्रहरी महानीरिक्षक शैलेश थापाकै व्याची हुन् । एआइजी तारणी लम्सालको अवकाश र थापा आइजीपीमा बढुवा भएपछि रिक्त रहेको पदमा उनीहरुलाई बढुवा सिफारिस गरिएको हो । हाल आइजीपी थापाको टोली २०४९ वैशाख १९ गते भर्ना भएका थिए । २०४९ सालमा तालिमपछिको मेरिटमा शैलेश थापा पहिलो नम्बरमा र हालका डिआइजी ईश्वरबाबु कार्की दोस्रो नम्बरमा थिए । त्यति बेला हालका एआइजी हरि पाल ११औं र तेस्रो नम्बरमा रहेका शाही नवौं नम्बरमा थिए भने प्रद्युम्न कार्की पाँचौं नम्बरमा थिए ।
२०५८ सालमा डिएसपी बढुवा हुँदा राजेशलाल कर्णलाई एक नम्बर, थापालाई दोस्रो र सौरभ राणालाई तेस्रो, शाहीलाई चौथो र प्रधुम्न कार्कीलाई पाँचौं नम्बरमा बढुवा गरियो । त्यसैगरी २०६६ सालमा एसपी बढुवा गर्दा ईश्वरबाबु कार्की झन् पछि धकेलिए । त्यसबेला बानेश्वर वृत्तमा रहेका दिलीप चौधरीलाई आन्दोलनमा घाइते भएको भन्दै एक नम्बरमा बढुवा गरियो भने दोस्रो नम्बरमा कर्णलाई बढुवा गरिएको थियो । तेस्रोमा थापा, चौथोमा शाही, पाँचौंमा पाल र छैटौंमा प्रद्युम्न कार्कीलाई बढुवा गरिएको थियो । डिआइजी बढुवामा भने क्रमशः थापा, पाल, शाही र कार्की एकै पटक भएका थिए ।





