काठमाडौं । नेपाल तरुण दलले ७७ जिल्लामा ३८ औँ स्मृति दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिले वीपी स्मृति दिवस २०७७ श्रावण ६ गते साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउन ७७ जिल्लालाई परिपत्र गरेको छ ।
तरुण दल अध्यक्ष जीतजंग बस्नेतले ७ वुँदे परिपत्र सोमबार ७७ जिल्ला अध्यक्षहरुलाई गरेका हुन । अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा वीपी स्मृति दिवस वृक्षारोपण, सरसफाई, रक्तदान, फलफुल वितरण, अन्तरक्रियाजस्ता रचनात्मक र सृजनात्मक कार्यक्रमहरु गरी साप्ताहिक रुपमा मनाउन निर्देशन दिइएको छ ।
कोभिड–१९ प्रभावित जिल्लामा भएका क्वारेन्टाइनहरुमा सरसफाई, शुद्ध खानेपानी वितरण जस्ता कार्यहरु गर्ने÷गराउने र यस सम्बन्धि सचेतना फैलाउने र स्थानीय प्रशासन एवं निकायहरु संग समन्वय गरी बाढी पहिरो प्रभावित जिल्लाका जनताहरुलाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा कृयाशील पनि तरुण दलले मातहतका निकायलाई निर्देशन दिएको छ ।
अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा वीपी स्मृति दिवस भव्य र व्यापक रुपमा मनाउन जिल्ला कार्यसमिति मातहतका समितिलाई समेत निर्देशन दिन भनिएको छ । नेपाली काँग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरुलाई सहभागी गराउन समेत निर्देशन दिएको छ । जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमहरुको प्रतिवेदन केन्द्रिय कार्यालयमा पठाउन समेत परिपत्रमा भनिएको छ ।





