ताजा समाचार

अध्यक्ष बखतीको चरित्र हत्या गरेर निगममा नेतृत्व हत्याउने नेकपा समर्थित कर्मचारी संघको दाउँ

काठमाडौं । नेपाल आयल निगमभित्रका कर्मचारी बीचको राजनीतिक द्वन्द्व उत्कर्षमा पुगेको छ । सत्ता र शक्तिको आडमा नेकपा समर्थित निगमका कर्मचारीहरु गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदा निगममा तनाब बढेको हो ।
बैचारीक र सांगठानिक धरातल क्रमश गुमाउदै गएको नेकपा समर्थित नेपाल आयल निगम कर्मचारी संघ आगामी निर्वाचनमा आधिकरी बन्न तल्लो स्तरमा प्रस्तुत भएको छ । आयल निगममा आधिकारीक युनियन बन्न लोकप्रिय व्यक्तिको शाख गिराउने खेलमा नेकपा समर्थित नेपाल आयल निगम कर्मचारी संघ जुटेको छ । दुई वर्षको कार्यकालमा लोकप्रिय कार्य गर्न नसकेको संघले लोकप्रिय व्यक्ति र संगठनको चरित्र धुमिल बनाउने राणनीति अपनाएको छ । असार १३ गते नै कार्यकाल सकिएको नेकपा समर्थित आधिकारिक कर्मचारी युनियनले पुन : नेतृत्व हत्याउन कांग्रेस समर्थित आयल निगम स्वतन्त्र कर्मचारी संघका अध्यक्ष विकास बखतीको चरित्र हत्या गर्ने प्रयास गरेको आरोप कांग्रेस निकट कर्मचारीहरुको छ । २–२ वर्षमा हुने निर्वाचनमा पछिल्लोपटक नेकपा समर्थितले जितेको थियो । कोभिड–१९ परिस्थितिका कारण निर्वाचन हुन सकेको छैन ।

नेपाली कांग्रेस समर्थित स्वतन्त्र कर्मचारी संघ र नेकपा समर्थित कर्मचारी संघको पछिल्लो समय द्वन्द्व गत बुधबारबाट सुरु भएको हो । बुधबार दिउँसो स्टोर शाखामा सामान लिन गएका अर्थ विभाग मातहतका वरिष्ठ सहायक पदमा कार्यरत भैरव रावललाई स्टोर शाखा प्रमुख विकास बखतीले कुटेको आरोप लाग्यो । बखतीले जति सामान उपलब्ध छ त्यति लिएर जान र बाँकी पछि उपलब्ध हुने जानकारी गराउँदा रावलबाट गालीगलौज,अपशब्द प्रहार भएको र आफूले कुनै प्रतिक्रिया नजनाएको दाबी गरेका छन । त्यसपछि रावलले आफैं बोकेर आएको माग फाराममा उल्लेख भएको ८ मध्ये ३ वटा सामान काटी आफैं दस्तखत गरी पाँचवटा सामान आफैं बोकर गएका थिए ।
स्टोर शाखा प्रमुख बखती कांग्रेस समर्थित नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष हुन । रावल नेकपा समर्थित निगमको कर्मचारी संघका केन्द्रीय सदस्य हुन ।

निगम भित्रको सामान्य घटनालाई रावलसहित नेकपा निकट कर्मचारी संघले राजनीतिक प्रतिशोधका आधारमा बखति विरुद्ध ‘हातपात गरेको, कर्मचारी आचरणविपरीत क्रियाकलाप गरेको र धाकधम्की दिएको भन्ने तीनवटा उजुरी प्रहरीमा दर्ता गारएपछि त्यही उजुरीलाई टेकेर प्रहरीले बखतीलाई बुधबार साँझ कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो ।
निगम भित्रका कर्मचारीबीचको विवाद निगम मै मिलाउने विश्वास दिलाएर निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, नायब कार्यकारी निर्देशकहरू सुशील भट्टराई र नागेन्द्र साह, निर्देशक दीपक बराल, उपनिर्देशक मनोज ठाकुरलगायतको टोलिले बखतीलाई बुधबार साझ नै छुटाएका थिए । त्यसको भोलिपल्ट नेकपा समर्थित कर्मचारीले बखतीलाई आवश्यक कारबाही नभए जस्तैसुकै कदम चाल्ने भन्दै व्यवस्थापनलाई दबाब बढाउन नाराबाजीमा उत्रिएका थिए । उनीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत दोषीमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन ।
कांग्रेस समर्थित कर्मचारीले उपल्लो तहको धाक–धम्की दिएर कामको वातावरण बिगार्ने प्रवृत्ति निरुत्साहित गर्न व्यवस्थापनलाई आग्रह गरेको छ । कांग्रेस समर्थित नेपाल आयल निगम स्वतन्त्र कर्मचरी युनियनले विज्ञप्ति निकालेर खण्डन गरेको छ । युनियनका महासचिव सन्दीप बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युनियनका अध्यक्ष विकास बखतीलाई निगमका कर्मचारी भैरव रावलले स्टोर शाखामा सामान लिन आउँदा केही सामान पछि उपलब्ध हुने र अहिले जति छ लैजान अनुरोध गर्दा निज रावलले जथाभावी अध्यक्षलाई मुख छोडी माथि उजुरी गरिदिन्छु भन्ने धाक, धम्की दिई गाली–गलौज र अपशब्द प्रयोग गरेकोप्रति यस युनियन घोर भत्र्सना गर्दछ ।’
दुबै पक्षको छलफलपछि घटनाको छानबिन गर्न निगमका निर्देशक दीपक बरालको संयोजकत्वमा सुस्मा कर्ण, नेत्र काफ्ले, प्रलयंकर आचार्यलगायतको समिति बनाइएको छ । समितिले पाँच दिनभित्र प्रतिवेदन दिने र सोही प्रतिवेदनअनुसार घटनामा दोषी देखिएकालाई कारबाही गर्ने लिखित सहमति भएको थियो । तर, नेकपा समर्थित कर्मचारीहरु भने समितिमा मन्त्रालयका प्रतिनिधि समेत राखिनु पर्ने भन्दै सत्ता र शक्तिको दम्भ देखाएर बखेडा निकालिरहेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *