खेलकुद

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले एस्टोन भिल्लालाई ३–० गोलले हरायो । म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डो, मेसन ग्रीनउड र पौल पोग्बाले एक एक गोल गरे । खेलको २७औं मिनेटमा म्यानचेस्टरले अग्रता लिएको थियो ।

ब्रुनो फर्नान्डोले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा मेसन ग्रीनउडले म्यानचेस्टरका लागि दोस्रो गोल गरेपछि उसले २–० गोलको अग्रता बनायो । मध्यान्तरपछिको खेलमा म्यानचेस्टरका लागि खेलको ५८औं मिनेटमा पौल पोग्बाले तेस्रो गोल गरे । एस्टोन भिल्लाको तर्फबाट गोल हुन सकेन । म्यानचेस्टर ३–० गोलले विजयी भयो । जितसँगै म्यानचेस्टर ५८ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने पराजित भएको भिल्ला २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यस्तै प्रिमियर लिगअन्तर्गत बिहीबार राति नै भएको दोस्रो खेलमा एभर्टन र साउथ ह्याम्पटनले एक एक गोलको बराबरी खेले । खेलको ३१औं मिनेटमा साउथ ह्याम्पटनका विलियन इंग्सले गोल गर्दै अग्रता दिलाए । यस्तै खेलको ४३औं मिनेटमा एभर्टनका रिचर्लसनले बराबरी गोल गरे । एर्भटन १०औँ तथा साउथ ह्याम्पटन तालिकाको ११औं स्थानमा छ । तेस्रो खेलमा टोटनेहम र एएफसी बर्नमाउथले गोलरहित बराबरी खेले ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *