कञ्चनपुर । दुई दिनदेखिको सुदूरपश्चिममा अत्यधिक वर्षा भएको छ । वर्षापछि पहाडमा पहिरो तथा तराईमा बस्ती डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पानीको निकास नहुँदा यहाँका केही घरमा पानी पसेको बताए । भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल छेउको प्रहरीचौकीमा पनि पानी जम्मा भएको छ । बजारको उत्तरतर्फका खोला, खहरे होला मासिँदा पछिल्ला वर्षमा डुबानको समस्या बढी भएको हो । कञ्चनपुर र कैलालीका अधिकांश भागमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ बागबानीमा डुबानमा परेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले उद्धार गरिएको छ । स्थानीयवासीलाई उद्धार गरी स्थानीय राधाकृष्ण मन्दिर परिसरमा राखिएको छ । कैलालीमा पनि विभिन्न बस्ती डुबानमा परेको छ । पहाडी सात वटा जिल्लामा अत्यधिक वर्षा हुँदा ठाउँ ठाउँमा पहिरो गएको छ । धनजनको क्षतिको विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।




