ताजा समाचार

कोरोना सङ्क्रमितको प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिँदै   

नवलपुर।नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको हो । हाल अस्पतालमा जिल्लाभरिका ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिए । “प्राकृतिक चिकित्सा विधिबाट ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेकोमा बिहीबार थप ३१ जना सङ्क्रमित ल्याएर उपचार शुरु गरिएको छ”, पौडेलले भने ।

स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार विधिको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सङ्क्रमित व्यक्तिलाई मानसिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, मेडिटेसन गराएर उनीहरुलाई चाँडो सङ्क्रमणमुक्त बनाउने प्रयासमा आँफूहरू लागेको उनले बताए। “प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, सङ्क्रमित खराब अवस्थामा पुगेका छैनन्”, उनले भने। खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेका उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा पौडेलले बताए ।

अस्पताल आएका सङ्क्रमितका लागि कोदो तथा फापरको रोटी, फलफूल, भिजाएको गेँडागुडी, खजुरलगायत खाद्य वस्तु नियमित सेवन गराइएको उनको भनाइ छ । शक्ति प्रदायक भोजनले सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्न नदिने, छिटो सङ्क्रमणमुक्त बनाउने तथा समुदायमा फैलिनबाट रोकथाम गर्ने पौडेलले बताए । कोरोना सङ्क्रमित व्यक्ति अस्पतालमा पुगेपछि प्राकृतिक उपचार पद्धतिका कारण विस्तारै निको हुँदै गएका उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *