ताजा समाचार

भारत शान्ति चाहन्छ तर युद्धका लागि उक्साए त्यसको जवाफ दिन सक्षम छौं-प्रधानमन्त्री मोदी   

एएनआई।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिएका छन।

लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको गोलाबारीमा २० जना भारतीय सैनिकको मृत्यु भएको सम्बन्धमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका हुन ।

कोरोनाभाइरसका कारण भारतमा जारी लकडाउनमा सहजीकरण गर्ने बारेमा राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गर्नुअघि प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा भएको घटनाका बारेमा राज्यका मुख्यमन्त्रीहरुलाई जानकारी गगराएका थिए ।

उनले भने, “हामीले मानव कल्याणका लागि प्रार्थना गरेका छौं । हामीले छिमेकी मुलुकहरुसँग सदैब मित्रवत र सहयोगात्मक ढंगबाट कार्य गरिरहेका छौं । हामीबीच कुनै मतभेद भए त्यसले विवादको रुप नलिओस् भन्ने हामीले प्रयास गरेका छौं । हामी कहिल्यै कसैलाई उक्साउने कार्य गर्दैनौं । तर हामी मुलुकको अखण्डता र सम्प्रभुतामाथि कुनै किसिमको सम्झौता गर्दैनौं । हामीले आफ्नो मुलुकको अखण्डता र सम्प्रभुताको संरक्षणमा आवश्यक परेको अवस्थामा सम्पूर्ण शक्ति लगाएका छौं ।”

प्रधानमन्त्री मोदीले भारतीय सेनाले गरेको बलिदान खेर जान नदिने बताए । उनले भने, “हाम्रा लागि मुलुकको एकता र अखण्डता सबैभन्दा महत्वपूर्ण छ । कसैले पनि हाम्रो मुलुकको सुरक्षा गर्नबाट रोक्न सक्दैन । भारत शान्ति चाहन्छ तर उक्साउने कार्य भएमा जस्तोसुकै जवाफ दिन सक्षम रहेको छ ।”

प्रधानमन्त्रीको सम्बोधनका क्रममा गृहमन्त्री अमित शाह र १५ वटा राज्यका मुख्यमन्त्रीहरुको उपस्थिति थियो । उक्त कार्यक्रम हुनुअघि सीमामा मारिएका सैनिकको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो ।

लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कर्णेल सहित कम्तीमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । उक्त भिडन्तमा चिनियाँ सेनातर्फ भएको क्षतिका बारेमा केही बताइएको छैन ।

यसैबीच, गलवान उपत्यकामा भएको तनाबलाई लिएर चिनियाँ र भारतीय विदेशमन्त्रीबीच टेलिफोनमा सम्बाद भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *