काठमाडौं।अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न बस्ने नेकपाका महासचिव र विष्णु पौडेलले जानकारी गराएका छन् । ‘अरू एजेन्डा तय गरेका छैनौं, एमसीसीबारे छलफल हुन्छ,’ पौडेलले भने।
एमसीसीबारे छलफल गर्न डाकिएका यसअघिका बैठकहरु स्थगित हुदै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी पास गराउने पक्षमा उभिनु र सचिवलाय सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्थायी कमिटी सदस्यहरु यथास्थितिमा पास गराउन नहुने पक्षमा उभिएपछि अहिले पार्टीभित्र विवाद बढिरहेको छ । लामो समयदेखि एमसीसी पारित गर्न नहुने भन्दै नेकपाभित्र आवाज उठेको छ। यसअघि जेठ १७ गते नेकपा सचिवालय बैठक बसेको थियो। पछिल्लो समय एमसीसीमा रहेका प्रावधान संशोधन नगरी कुनै हालतमा पारित नगर्ने अडान नेताहरूले लिएका छन्।
नेकपाभित्र विवादित बनेको एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने अनुदान रकमलाई बजेटमै समावेश गरिएको छ । अर्थमन्त्रीले आफ्नो भाषणमा नपढेको तर अनूसुचिमा अनुदान रकम समावेश भएपछि सत्तारुढ दलभित्र खैलाबैला भएको थियो । पाँच अर्ब ७२ करोड वैदेशिक अनुदानलाई आर्थिक वर्ष ०७७/७८ को बजेटमै राखेर ल्याइएको मात्र होइन बजेट पास पनि भैसकेको छ ।
माघ १५ देखि १९ सम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्य एमसिसीको विपक्षमा उभिएपछि पार्टीले त्यसबारे स्पष्ट हुन तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलको संयोजकमा वरिष्ठ नेता झलनाथ खनाल तथा सदस्यमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेका थिए ।




