एजेन्सी । विश्वमा आएको कोरोनाभाइरसको महामारीले स्थगित भएर फेरि सुरु भएको स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो जादु कायमै राखेको छ । आफ्नो पहिलो खेलमा साबिक विजेता बार्सिलोनाले मायोर्कामाथि ४–० को सहज जीत निकालेको छ ।
खेलको दोस्रो मिनेटमा नै आर्टुरो भिडालको गोलको मद्दतले बार्साले अग्रता लिएको थियो । खेलको ३७ औँ मिनेटमा मार्टिन ब्राथवेटले बार्साको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा जोर्डी आल्बाले बार्सिलोनाको अग्रता फराकिलो पारे भने खेलको इन्जुरी समयमा लियोनेल मेस्सीले चौथो गोल थपे । यो सिजन लिगमा उनको यो २० औँ गोल हो । शनिबार भएको घाइते भएर जनवरीको सुरुवात देखि नै मैदान बाहिर रहेको लुइस सुवारेजले शनिबारको खेलमा भने नरागमन गरेका थिए ।
जीतसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड ले आइतबार इबारको सामना गर्दै यो अग्रतालाई घटाउने प्रयास गर्नेछ ।




