चितवन । कोरोनाको सङ्क्रमण देखिएपछि भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष अस्पतालमा राखिएका पाँच जनालाई अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरुको डिस्चार्ज शुक्रबार भएको भए पनि आज घर जाँदैछन् । डिस्चार्ज हुनेमा नवलपुर देवचुली वडा नं १ र १२ का दुई, विनयत्रिवेणी–६ नवलपुरका एक र भरतपुर महानगरपालिका–६ का तीन छन् । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका भरतपुर–६ केशरवागका एक वृद्ध, उनकी श्रीमती र छोरासमेतलाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए ।
उनी भरतपुर अस्पतालमा २१ दिनदेखि बसिरहेका छन् । यस्तै देवचुली–१२ का ४९ वर्षीय सङ्क्रमित ३१ दिन र देवचुली नगरपालिका–१ का सङ्क्रमित १५ दिन र विनयत्रिवेणी नगरपालिका– ६ का सङ्क्रमित २० दिनदेखि अस्पतालमा बसिरहेका छन् । सरकारले गत जेठ २० गते जारी गरेको राष्ट्रिय जाँच परीक्षण निर्देशिकाअनुसार कोरोना सङ्क्रमित व्यक्तिमा सङ्क्रमण लक्षणमुक्त भएको तीन दिन र जम्मा भर्ना भएको १४ दिनपछि परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको तिवारीले जानकारी दिए।
यस्ता बिरामीबाट कोरोना सङ्क्रमण अरुमा सर्ने सम्भावना न्यून भएको हुँदा परीक्षण नगरी घर पठाइने उनले बताए । तिवारीले कुनै पनि सङ्क्रमण पुष्टि भएका बिरामीलाई दोहो¥याएर परीक्षण नगरिने बताए । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले डिस्चार्ज भएका सबै जनालाई घरमा गएर थप १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, सबै नियमको पालना गर्न सुझाव दिइएको बताए । सङ्क्रमितलाई एक मिटरको दूरी कायम गरेर बस्न, साबुनपानीले पटकपटक हात धुन, पौष्टिक र सन्तुलित खानपान गर्न भनिएको छ ।




