ताजा समाचार

अमेरिकी चुनाव : जो बाइडेन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार निश्चित   

एएफपी।पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गरेका छन ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उनको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।  ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पार्टीको मनोनयनका लागि आवश्यक एक हजार ९९१ जना प्रतिनिधि संख्या आफूलाई प्राप्त हुने सुनिश्चित भएको बताएका छन ।

मंगलबार सम्पन्न डेमोक्र्याटिक पार्टीको चुनावमा आफूलाई पार्टीका तर्फबाट मनोनयनमा पर्न आवश्यक संख्या प्राप्त भएको बताउँदै उनले अब मुलुकको सर्वोत्तम हितका लागि राष्ट्रपति पदको औपचारिक चुनावी यात्रामा निस्कने बताए ।

गत अप्रिलमै राष्ट्रपति पदको दौडमा रहनु भएका अर्का प्रत्यासी भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले चुनावी दौड परित्याग गरेका थिए । उनले पनि जो बाइडेनलाई समर्थन गरिसकेका छन ।

अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्योयडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि देशव्यापी प्रदर्शन र हिंसाबीच नै डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव सम्पन्न भएको थियो । फ्योयडको निधनप्रति बाइडेनले अहिले अमेरिकी इतिहासमै कठिन मोडमा उभिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको विभाजनकारी, क्रोधी राजनीतिको कुनै जवाफ नभएको प्रतिक्रिया दिनु दिए ।

उनले भने , संयुक्तराज्य अमेरिका अहिले वैकल्पिक नेतृत्व खोजिरहेको छ, त्यस्तो नेतृत्व जसले हामीलाई एकताबद्ध गर्न सकोस् । प्रदर्शनकारीका सम्बन्धमा बाइडेनको प्रतिक्रिया ट्रम्पको भन्दा विल्कुलै भिन्न छ । ट्रम्पले प्रदर्शन नियन्त्रणका लागि अमेरिकी नागरिक विरुद्ध नै सैनिक परिचालन गर्ने धम्की दिएका छन ।

कोरोनाभाइरसका कारण मध्य मार्चदेखि आफूखुशी एकान्तबासमा रहेका  ७७ वर्षीय बाइडेनले आफू ह्वाइट हाउसमा निर्वाचित भए “प्रणालीगत नश्लियवाद” मा व्यापक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन  ।

उनले भनेका छन, “अहिले हरेक अमेरिकी नागरिक हामीलाई समन्याय चाहिएको छ – र समान अवसर । हामीलाई मद्दत गर्ने राष्ट्रपति अहिलेको चाहना हो ।”  बाइडेनका सामुन्ने अहिले उपराष्ट्रपति छान्ने चुनौती छ । उनले यसअघि नै आफूले महिलालाई उपराष्ट्रपति पदमा मनोनयन गर्ने बताइसकेका छन  ।

क्यालिफोर्नियाकी पूर्व महान्यायाधीवक्ता ५५ वर्षीया सिनेटर कमला ह्यारिसलाई बाइडेनले उपराष्ट्रपतिमा छनौट गर्ने सम्भावना रहेको छ ।  जमैकाली–भारतीय मूलकी सिनेटर ह्यारी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको सम्भावित उम्मेदवार पनि ठानिएको थियो तर गत डिसेम्बरमा उनले उम्मेदवारी त्यागेका थिए ।
रियलक्लियरपोलिटिक्सले गरेको मतसर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन ७.१ विन्दुले अग्रता बनाएकाे  देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *