ताजा समाचार

हेलम्वुकाे इचाेक स्वास्थ्य चाैकीबाट जिल्लकै उत्कृष्ट सुरक्षित मातृत्व सेवा

काठमाडाैं । हेलम्वुकाे इचाेक स्वास्थ्य चाैकीले सिन्धुपाल्चाेककै उत्कृष्ठ सुरक्षित मातृत्व सेवा  प्रदान गर्दै आएकाे छ । गाउँपालिकाका वडा नं. ७ र वडा नं. ५ मा दुई वटा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । दुई वटा बर्थिङ सेन्टरबाट सुत्केरी महिलाहरूले सेवा लिइरहेका छन । 

वडा नं. ७ मा रहेको इचोक स्वास्थ्य चौकीबाट मात्रै चालु आर्थिक वर्षमा एक सय दुई जनाले सुत्केरी सेवा लिएको स्वास्थ्य संयोजक ज्ञानेन्द्र सिग्देलले जानकारी दिए। वडा नं. ५ मा रहेको बर्थिङ सेन्टरबाट २८ जनाले सेवा लिएको उनले बताए  । गाउँपालिकाले सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत यो कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । पहिलो वर्ष पाँच जनाले सुत्केरी सेवा लिएको इचोक स्वास्थ्य चौकीमा दोस्रो वर्ष ५५ र चालु वर्षमा एक सय दुई जनाले सेवा लिइसकेका छन् ।

गाउँपालिकाभर दुई वटा बर्थिङ सेन्टरसहित नौ वटा स्वास्थ्य संस्था रहेका छन् । पाँच वटा स्वास्थ्य चौकी, दुई वटा स्वास्थ्य इकाई र दुई वटा बर्थिङ सेन्टरबाट हेलम्बु बासीले स्वास्थ्य सेवा लिइरहेका छन् । इमरजेन्सीको लागि बर्थिङसेन्टरमा अक्सिजन सिलिन्डर समेत राखिएको छ । इचोकमा रहेको बर्थिङ सेन्टरमा भिडियो एक्स-रे को समेत व्यवस्था गरिएको संयोजक सिग्देलले बताए ।

सिन्धुपाल्चोक जिल्लाभरिका स्वास्थ्य चौकी मध्ये सबैभन्दा बढी सुत्केरी सेवा दिने स्वास्थ्य चौकीमा इचोक स्वास्थ्य चौकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले बताए । उनेले भने “गाउँपालिकाको राम्रो व्यवस्थापनले गर्दा छोटो समयमा धेरैको मन जित्न सफल स्वास्थ्य चौकी हो, सदरमुकाम चौताराबाट टाढा भए पनि व्यवस्थापन राम्रो भएकै कारण धेरैले सेवा लिएका हुन् ।”

सरकारले उपलब्ध गराउँदै आएको सुत्केरी भत्ता बापतको तीन हजार रुपैयाँमा गाउँपालिकाले थप तीन हजार दिने गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्याल्माे शेर्पाले  बताए । सुत्केरीलाई कुनै समस्या भएर रिफर गर्नुपरेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी कुरुवाको लागि छुट्टै घरको निर्माण समेत गरिएको छ । सुत्केरी कुर्न आउने र सुत्केरीलाई खान बस्नको व्यवस्था गाउँपालिकाले निःशुल्क गरेको छ । हेलम्बु गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । 

गाउँवासीको स्वास्थ्यलाई विशेष ध्यान दिँदै यसअघि नै गाउँपालिका भरीका दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । चिकित्सकसहित अध्यक्ष शेर्पा नै घर-घरमा पुगी दीर्घ रोगीहरूको स्वास्थ्य परीक्षण गराएका थिए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *