ताजा समाचार

विदेशमा अलपत्र परेका नागरिक ल्याउने निर्णय, सातै प्रदेशमा मन्त्रीहरु संयोजक रहेको समिति गठन

 काठमाडौं।सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुलाई फर्काउने निर्णय गरेको छ । कोभिड–१९ (कोरोना) भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गर्दै सात वटै प्रदेशमा मन्त्रीहरुलाई फोकल पर्सन तोकेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रवार बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरी मन्त्रीहरुलाई फोकल पर्सन तोकेको हो ।
विदेशबाट ल्याइएका नागरिकलाई प्रदेशगत रुपमा छुट्याएर क्वारेन्टाइनमा राखी घर पठाउन सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको सो समितिले जनाएको छ । ती मन्त्रीले नै आफ्नो जिम्मेवारीभित्रका जिल्ला र स्थानीय तहसँग समन्वय गर्नेछन् ।
संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतीमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्या अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन,कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *