सिन्धुपाल्चोक।मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भएसंगै केही तौरतरिका पनि फेरिएका छन । तर जनअपेक्षा भने अझै पुरा हनु सकेको छैनन । स्वर्णिम अक्षरमा गणतन्त्र आएपनि जनताले सुखद् अनुभूति भने गर्न पाएका छैनन ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता निमा ग्याल्जेन ह्याल्माे मुलुकमा ठूलो त्याग र विलिदानीबाट गणतन्त्र आएको स्मरण गर्छन । उनी भन्छन गणतन्त्रमा जनता मालिक हुन्छ । जब सम्म नेपाली जनताले लोकतान्त्रिक गणतन्त्र तातो होकि चिसो हो आफैंले छामेर अनुभव गर्न पाउँदैन तबसम्म लोकतान्त्रिक गणतन्त्र दर्विलो हुन नसक्ने शेर्पाको तर्क छ । शेर्पाले आम जनताका स–साना समस्याहरुको सम्बोधन नभएसम्म जनताका लागि गणतन्त्रको महसुस नहुने बताए ।
गणतन्त्र दिवसको अवसरमा संकल्प खवरसंग संक्षिप्त कुरा गर्दै अध्यक्ष शेर्पाले आफू गणतन्त्रको व्यवहारिक कार्यान्वयनमा जुटेको बताए । हेलम्बुमा बोली,नारामा मात्र होइन व्यवहार र व्यवस्थामै गणतन्त्रको अनुभूति गर्न सकिने उनले बताए ।
अध्यक्ष शेर्पाले विहिवार विहान स्वादेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन । शुभकामना सन्देशमा उनले गणतन्त्र बलियो बनाउनका लागि सबैले सचेत हुनुपर्ने विचार व्यक्त गरेका छन । लोकतान्त्रिक गणतन्त्रमा सम्पूर्ण समुदायले समानरुपमा राज्यले दिने हरेक सेवा पाएको अनुभव भएमा त्यसले मात्र गणतन्त्र बलियो हुने उनको बुझाइ छ ।
मानव जातिकै लागि चुनौति बनेको कोभिड १९ को महामारीलाई सबै समुदाय र राजनीतिक दलहरु एक भएर सामना गर्ने विश्वास पनि अध्यक्ष शेर्पाले व्यक्त गरे । कोरोना भाइरसको महामारी निर्मुल भएपछि मुलुक विकास र संमृद्धिको लयमा फर्कने विश्वास उनले व्यक्त गरे ।
हेलम्बुले हेलम्बु ग्रेट ट्रेल निर्माण, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर जनचाहना अनुरुप काम गरिरहेको अध्यक्ष शेर्पाले बताए । जनतालाई केन्द्रविन्दूमा राखेर हेलम्वुको मुहारफेर्न आफू लागि परेको शेर्पाले कुराकानीका क्रममा बताए ।




