काठमाडौं । नेपाली सेनाले आगामी दुई निकै कठिन हुने जनाएको छ । कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले जुन र जुलाईमा कोरोना भाइरसका बिरामी बढ्ने प्रक्षेपण गरेको भन्दै सेना आगामी दुई महिना कठिन हुने जनाएको हो।
नेपाली सेनाका विशेषज्ञ चिकित्सक र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञहरुले यो दुई महिना अझै कोरोना संक्रमित बढ्ने प्रक्षेपण गरेका हुन् । नेपाली सेनाले गरेको पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता विज्ञानदेब पाण्डेले अन्र्तराष्ट्रिय ट्रेन्डका आधारमा कोरोना भाइरस अझै फैलिने प्रक्षेपण गरिएको जानकारी दिए । ‘हामीले भारत र अन्य देशबाट आउने नेपालीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर प्रधानमन्त्रीलाई योजना बुझाएका छौँ’ प्रवक्ता पाण्डेले भने, ‘उच्चस्तरीय समन्वय समिति हुँदै मन्त्रिपरिषदमा गएको हामीले सुनेका छौँ । अब यसको अन्तिम कार्ययोजना आउँछ होला ।’ क्वारेन्टाइन वार्ड, आइसोलेसन वार्ड लगायतमा गरी नेपाली सेनाका २ हजार २ सय ९० स्वास्थ्यकर्मी खटिएको प्रवक्ता पाण्डेले बताए ।
सैनिक प्रवक्ता पाण्डेका अनुसार अनुगमन तथा सुरक्षा व्यवस्था लगायतमा सिसिएमसीले ८७ हजारको हाराहारीमा सुरक्षा फौज परिचालन गरेको छ । जसमा नेपाली सेना ७ हजार ५ सय, नेपाल प्रहरी ४६ हजार ४ सय, सशस्त्र प्रहरी ३१ हजार र अनुसन्धान विभागबाट २ हजार भन्दा बढी परिचालित छन् । त्यस्तै कार्यक्रममा चिकित्सक एवम् सेनानी नविन फुयाँलले गणितीय विश्लेषणका आधारमा जुन र जुलाईमा बिरामी बढ्ने देखाएको जानकारी दिएका थिए।




