ताजा समाचार

पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समित गठन गर्न कांग्रसकाे माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले २१औँ शताब्दीमा जातीय हिंसा र नरसंहार हुनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरे ।

उनले घटनामा बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । नेपालको इतिहासमै ठूलो जातीय नरसंहार भएको उनको भनाइ थियो । “जातीय विभेदको घटनाबाट छ जनाको ज्यान गएको छ । तीन जनाको शव भेटिएको छ भने तीन जना बेपत्ता छन्”, उनले भने, “सरकारले सामान्य घटनामा छानबिन समिति बनाउने गरे पनि जातीय विभेदका कारण भएको घटनामा छानबिन समिति गठन नहुनु दुःखद् छ ।”

काँग्रेसका सांसदको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेका थिए । लगत्तै सभामुख सापकोटाले काँग्रेसका सांसद प्रकाश रसाइलीलाई बोल्ने समय उपलब्ध गराएकाे थियो । सांसद रसाइलीले घटनाका बारेमा गृहमन्त्रीको जवाफ चाहेको बताउँदै घटनालाई राजनीतिक प्रभावका आधारमा कमजोर बनाउन खोजिएको आरोप लगाए। उनले रुकुमपश्चिम र जाजरकोटका सङ्घीय सांसदसहितको संसदीय छानबिन समिति गठन गर्न माग गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *