एजेन्सी । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ८७ हजार पुगेको छ ।
अहिलेसम्म विश्वभर तीनलाख ४७ हजार ८६२ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर ३ हजार ९६ व्यक्तिको मृत्यु भएको छ ।
त्यस्तै ९० हजार बढी संक्रमितहरु विगत २४ घन्टामा थपिएका छन् । विश्वकै सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १७ लाख ६ हजार रहेका छन् भने ब्राजिलमा तीन लाख ७६ हजार ६६९, रूसमा तीन लाख ५३ हजार ४२७, स्पेनमा दुई लाख ८२ हजार ८५२, बेलायतमा दुई लाख ५९ हजार ५५९ र इटलीमा दुई लाख २९ हजार ८५८ सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९९ हजार ८०५ रहेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ९१४, इटलीमा ३२ हजार ८७७, स्पेनमा २८ हजार ७५२, फ्रान्समा २८ हजार ३६७ र ब्राजिलमा २२ हजार ७४६ सङ्क्रमितको मृत्यु भएको छ ।
सङ्क्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।
एशियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी सङ्क्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बङ्गलादेश सिङ्गापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा सङ्क्रमणका कारण बढी प्रभावित मुलुक हुन् ।




