ताजा समाचार

संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा सेना परिचालन

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा सेना परिचालन हुने भएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि सरकारले सेनापरिचालन गर्ने र अर्को अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण बाहिर जान थालेकोले यस्तो निर्णय गरेको जिल्ला सुरक्षा समिति बाँकेका सदस्य–सचिव समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए ।, ‘भारतबाट आएका युवामा कोरोनाको संक्रमण बढ्न थाल्यो । कोरोनाको संक्रमण समुदायमा नसरोस भन्नका लागि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने । ‘आइतबार राति ८ बजेदेखि लागू हुने निषेधाज्ञा जारी गरिएको हो।’ सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘परिस्थिति सामान्य नहुँदासँम्म निषेधाज्ञा जारी रहन्छ।’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले सेना परिचालन नभए सकिने दुखेसो व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘सरकार सेना परिचालन गर, नत्र सखाप हुन्छ।’ कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि नरैनापुर गाउँपालिकाका अध्यक्ष आत्तिएका थिए । उनले भनेका थिए ‘अब त थाकि सकेका छौं।’सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘गाउँपालिका भारतसँग सीमाना जोडिएको छ। टोल–टोल र गाउँ–गाउँ भारतसँग जोडिएका कारण लुकिछिपी आउने र सिधै भारतबाट आउने भएकाले पनि कोरोनाको जोखिम बढी भएको हो।’

गाउँमा डाक्टर पनि नभएको गुनासो शनिबार अध्यक्ष शाहले गरेका थिए । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप सुरक्षाकर्मी सहितको टोली पठाउने र भोलि ९सोमबार०बाटै स्थानीयमा पनि कोरोना परीक्षण सुरु गरिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए । ‘यसभन्दा पहिला पनि सिल गरेका थियौं’, उपाध्यायले भने, ‘स्थानीयले प्रभावकारी ढंगले लकडाउनको पालना नगरेकाले गाउँपालिकाको चिठी पनि आएको थियो । चिठी भन्दा पनि गाउँको स्थिति हेरेर जिल्ला सुरक्षा समितिले आवश्यक ठानेर सेना परिचालन गर्ने निर्णय गरेको हो।’नरैनापुरमा कुल १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *