काठमाडौं । अभिनेत्री बर्षा राउतले माफी मागेकी छन् । नेपाल–भारतबीचको सीमा विवादबारे दिएको बयानका कारण विवादमा फसेपछि उनले माफी मागेकी हुन् ।
वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोस्ट गर्दै बिषयमा माफी मागेकी छन् ।
आफ्नो भावुक स्वभाव भएकोले सकेसम्म कुनैपनि प्रकारको विवादबाट टाढै बस्न खोज्ने बताएकी उनले अगाडि भनेकी छन् ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, जिब्रो चिप्लियो होला । तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताको सम्मानमा अलिकति पनि चुकेकी छैन, अलिकति पनि तलमाथि परेकी छैन ।’
नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थनमा आफू अग्रपंक्तिमा उभिन तयार रहेको समेत बताएकी उनले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ ।
‘म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिक मात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ ’ उनले अगाडि लेखेकी छन् ‘भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस् भनेर भन्न खोजेकी हुँ ।’
उनले अब आइन्दा कुनै बिषयमा बोल्दा हेक्का राखेर बोल्ने बताएकी छन् ।
बर्षाले सामाजिक सञ्जालमा नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् ।
जसमा उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी थिइन् ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’
बर्षाले भिडियो क्लीपमा भारतीय साथीहरुलाई अब के भन्ने–भन्ने भइरहेको समेत उल्लेख गरेकी थिइन् । उनले भनेकी थिइन् ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’
बर्षाको यो अभिव्यक्ति पछि सामाजिक सञ्जालमा बलिउडकी स्टार अभिनेत्री मनिषा कोइरालासँग वर्षा राउतलाई जोडेर आलोचना हुन थाल्यो । २५ वर्ष बलिउडमा बिताएकी मनिषा कोइरालालाई आफ्ना प्रशंसक, साथीभाइको चिन्ता नहुने तर नेपाली अभिनेत्रीलाई भारतीय साथीहरुको चिन्ता हुने भन्दै उनीमाथी सामाजिक सञ्जाल प्रयोगकर्ता खनिए ।
कतिपय सामाजिक संजाल प्रयोगकर्ताले बर्षाको बिरोधमा भारतलाई लिपुलेक फिर्ता दिएर बर्षा राउतलाई भारत लैजान समेत भनेका थिए ।




