बागलुङ। कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो ।
स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए। “एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ”, उनले भने, “निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ ।” बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ ।
बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ । भारतबाट आउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमणको जोखिम हुन नदिन कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले बताए । भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमति गरेका छन् । पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन् ।
शुक्रबार र शनिबार गरी बडिगाड गाउँपालिकाका ६० जना भारतबाट आएका छन् । उद्धार गरी ल्याइएका सबैलाई क्वारेन्टिनमा राखिएको गाउँपालिकाले जनाएको छ । झण्डै ५०० जना भारतबाट फर्कने गाउँपालिकाको आँकलन छ । “भारतबाट आउनेको सङ्ख्या बढेपछि व्यवस्थापनमा चुनौती थपिएको छ”, अध्यक्ष पाइजाले भने, “स्रोत साधन सीमित छ, आर्थिक वर्ष सकिन लागेकाले विकास योजनाका काममा पनि लाग्नुपरेको छ ।”
भारतबाट आएका सबै नागरिकलाई क्वारेन्टिनमा राखी कोरोना जाँचपछि मात्र घर पठाइने गाउँपालिकाले जनाएको छ । जिल्लाको पश्चिम भेगबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या बढी छ । बडिगाडको छिमेकी गलकोट नगरपालिकामा पनि शनिबार मात्रै २५ जना भारतबाट आएका छन् । भारतका विभिन्न ठाउँमा अलपत्र परेका व्यक्ति
तत्कालै स्वास्थ्य कार्यालयले ‘कन्टयाक्ट ट्रेसिङ’ गरी गलकोटका १०९ जनाको कोरोना जाँच गरेको थियो । पिसीआर विधिबाट गरिएको जाँचमा सबैको रिपोर्ट नेगेटिभ आएपछि तत्काललाई त्रास घटेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ३५० भन्दा बढी श्यया रहेका क्वारेन्टिन तयारी अवस्थामा छन् । यस्तै १६ श्ययाको आइसोलेसन बनाइएको छ । गत चैतमा सङ्क्रमित जिल्लाका दुई जना निको भइ घर फर्किसकेका छन् । त्यसयता नयाँ सङ्क्रमण देखिएको छैन ।




