ताजा समाचार

‘शहरको भिडमा बिहान र साँझको हिँडाइ बन्द गरौँ’

चितवन । लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन् । मानव स्वास्थ्यका लागि व्यायाम अतिआवश्यक पर्दछ । चिकित्सकहरूले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् । यतिबेला लकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै छ ।

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडा भिडमा बाहिर नहिँड्न सुझाव दिन्छन् । तीन मिटर फरकमा गुणस्तरीय मास्क लगाएर हिँड्न सकिने भए पनि त्यो सबै व्यवस्थापन शहरी क्षेत्रमा सम्भव नहुने भएकाले जोखिम नमोल्न उनको सुझाव छ । घरमा योग गर्न सुझाव दिँदै खतिवडाले अहिलेको अवस्थामा सबै सचेत हुनुपर्ने बताए । साँघुरा सडकमा गाडी आउँदा बीचको भाग छोड्नु पर्छ । छेउबाट भिड गरी हिँड्दा उच्च जोखिमको सम्भावना रहन्छ ।

वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सामाजिक दूरी कायम गरेर तीन पत्रे (ट्रिपल लेयर) सर्जिकल मास्क प्रयोग गर्दा कम जोखिम भए पनि भिडमा नहिँड्नु नै उपयुक्त भएको बताउँछन्। अहिले बजारमा त्यस्ता मास्क पाउनै मुस्किल भएको भन्दै यो जोखिमको समयमा घरमै व्यायाम गर्न उनले सुझाव दिए । पहाडी र खाली ठाउँमा हिँडडुल गर्न र सामाजिक दूरी कायम गरी खेतमा काम गर्न सकिए पनि शहरी क्षेत्रमा नहिँड्न उहाँको सुझाव छ ।

अहिले जिल्लाको शहरी क्षेत्रमा बिहान सबेरैदेखि र साँझ हुलका हुल मानिस हिँड्ने गरेको पाइन्छ । विगतमा भन्दा धेरै मानिस हिँड्ने गरेको देखिन्छ । मास्कविना र साधारण कपडाको मास्कमा हिँड्डुल गरेको पाइन्छ । सामाजिक दूरी कायम गर्न कठिन छ । नजिकैबाट हिँड्नेले खोक्दा, थुक्दा, हाच्छ्यु गर्दा यसको जोखिम हुने अधकारीको भनाइ छ । घरमै बस्ने र व्यायाम गरेमा सबै रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता

नारायणी नदीमा डुबेर दुई जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय प्रवीण दवाडी र २५ वर्षीय विवेक भट्टराई रहेका छन् ।

उनीहरु आइतबार दिउँसो ४ः३० बजे महानगरपालिका–१६ को गणेश मन्दिर नजकै नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *