कोशी प्रदेश

भुल्केका २८ कोरोना सङ्क्रमितमध्ये १४ जना उपचारपछि डिस्चार्ज 

गाईघाट। उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका २८ जना कोरोना सङ्क्रमित बिरामीमध्ये उपचारपछि आज थप आठ जना कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा एकजना भारतीय नागरिकसहित सात जना भुल्केका स्थानीय नागरिक रहेका स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए। उनीहरुलाई यही वैशाख ८ गतेको स्वाब नमूना परीक्षणपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि कोशी अस्पताल विराटनगर लगेर उपचारमा राखिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए ।

उपचारपछि उनीहरुमा पटक–पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएका कारण आज अस्पतालले उनिहरुलाई डिस्चार्ज गरेको कोशी अस्पताल विराटनगरलाई उदृढ गर्दै स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताए । अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई केही दिनका लागि विराटनगरस्थित रानी मस्जिदको क्वारेन्टाइनमा राखिन लगिएको पनि स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

तीन दिनअघि पनि भुल्केमा सङ्क्रमित बनेका छ जना भारतीय नागरिकलाई कोशी अस्पतालले कोरोना सङ्क्रमण भएर उपचार गराई उपचारपछि रिपोर्ट नेगेटिभ आएका कारण अस्पतालबाट डिस्चार्ज गरेको थियो । अब भुल्केका २८ कोरोना सङ्क्रमितमध्य १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेकाले बाँकी १४ को भने उपचार भइरहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *