ताजा समाचार

अध्यक्ष दाहाल भन्छन एक-दुई दिनमै स्थायी कमिटी बैठक बोलाउँछाैं 

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन। संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब नमूना दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बैठक हललाई निर्मलीकरण गर्ने प्रक्रिया सम्पन्न भएको जानकारी पाएको बताए ।

निकै राम्रो ढङ्गबाट बैठक सञ्चालन गर्ने तयारी भइरहेको आफूले पाएको अध्यक्ष दाहालको भनाइ थियो । “बैठक सञ्चालनबारे संसद् सचिवालयको तयारीसम्बन्धी ब्रिफिङ पनि सुनेँ”, पूर्वप्रधानमन्त्री दाहालले भने “पहिला एक सिट छाडेर बस्ने भन्ने थियो, अहिले दुई सिट छाडेर बस्ने भन्ने भएको छ ।” उनले प्रधानमन्त्रीका लागि दुई वटा लाइन नै छाडेर बस्ने तयारी गरिएको जानकारी दिए । बैठक कक्षको बालकोनीमा पनि बस्ने ढङ्गबाट अगाडि बढेको छ ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले गृहकार्य नपुगेका कारण स्थायी कमिटी बैठक बस्न नसकेको बताए । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर एक-दुई दिनभित्रै बैठक बोलाउने उनले जानकारी दिए। यसैबीच, स्थायी कमिटीको बैठकलगायतका विषयमा नेकपाका केही स्थायी कमिटी सदस्यले आज पार्टी कार्यालय धुम्रबाराहीमा अनौपचारिक छलफल गरेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *