सुर्खेत । भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका किसानका गहुँबाली लगातारको वर्षात्ले बारीमै कुहिन थालेको छ ।
हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल, अमलसेनी, खोर्रे, मुरलीगाउँका १६२ घरधुरी किसानको गहुँबाली नष्ट भएको सोही वडाका स्थानीय किसान हेमन्तप्रकाश ओलीले जानकारी दिए । “हाम्रो ४६२ रोपनी क्षेत्रफलमा लगाएको गहुँबाली भित्र्याउन नपाएर बारीमै कुहिएको छ”, उनले भने, “यसबाट ७५१ क्विन्टल (७५ मेट्रिकटन) क्षति भएको छ ।”
मुखमा हाल्ने बेलाको गाँस नै खोसिँदा यहाँका किसान पुर्पुरोमा हात लगाउनुपर्ने बाध्यता आइलागेको उनले बताए । उनका अनुसार कोरोना भाइरसको जोखिम भन्दा भोकमारीले मर्ने डर उब्जिएको छ । यसबाट गहुँबालीमा निर्भर यहाँका करिब एक हजार जनसङ्ख्या प्रभावित हुने उहाँको भनाइ थियो ।
त्यस्तै अर्का कृषक झकबहादुर खत्रीले गहुँबाली पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि स्याहार्न नसकिएको बताउनुभयो । “पानी आएपछि गहुँ बारीमै ढल्यो, कुहियो र त्यही कुहिएको बालोबाट पुन गहुँ उम्रन थाल्यो । तर भित्र्याउने कुनै सीप भएन”, खत्रीले भने । कोरोनाको महामारीका साथै लकडाउनले अबको उत्पादनमा कमी आउने उनले बताए।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले क्षतिको विवरण सङ्कलन गर्न त्यहाँका किसानलाई सुझाएका छन् । किसानको वास्तविक समस्यालाई बुझेर सक्दो राहत सहयोग गर्ने उहाँले जानकारी दिए। उनले स्थानीय किसानलाई बर्खेबाली उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित कृषि उपज बजारीकरण हुन नसके सरकारले सहजीकरण गर्ने जनाएका छन् ।




