कर्णाली प्रदेश

कर्णाली प्रवेश गर्ने सबै नाका एक हप्ता बन्द गर्ने कर्णाली प्रदेश सरकारकाे निर्णय

काठमाडाैं।कर्णाली प्रदेश सरकारले कर्णाली  प्रवेश गर्ने सम्पूर्ण नाकाहरु  एक हप्ताका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णाय गरेकाे छ  । प्रदेश नं ५ को बाँके नेपालगञ्जमा आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरुपमा १६ पुगेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको हाे ।  मुख्यमन्त्री कार्यालयमा बसेकाे बैठकले कर्णालीमा कोरोना जोखिम नियन्त्रणका लागि ११ बुँदे निर्णय गरेकाे छ ।

भारतसँग सिधै जोडिएको बाँके नेपालगञ्ज र त्यससँग जोडिएको कर्णालीमा पनि कोरोना जोखिम बढ्ने सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाएको जनाएकाे छ ।

यस्ता छन बैठकका निर्णयहरु
१. कर्णाली प्रदेशमा प्रवेश गर्ने सबै सवारी तथा पैदल मार्ग समेत (सम्पूर्ण नाकाहरु) सम्पूर्ण सीमा आज राती 12.00 बजे देखि एक हप्ताका लागि पूर्ण रुपमा बन्द गरी लकडाउनलाई मजबुत बनाउने ।

२.भारत लगाएत तेश्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको सम्पूर्ण अवस्था र विवरण सम्बन्धित पालिकाले अद्यावधिक गरी प्रदेश सरकारलाई जानकारी/रिपोर्टिङ्ग गर्ने र त्यस्ता ब्यक्तिहरुको PCR परीक्षणको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने।

३. प्रदेशभित्रका महत्वपूर्ण र जिल्लाको भौगोलिक दृष्टिकोणले बढी जनसंख्यालाई सेवा पुग्ने केन्द्रहरुमा सामाजिक विकास मन्त्रालयले कार्ययोजना तयार गरी स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्ने। दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्‍याउन नसक्ने अवस्थामा हेलिकप्टरको प्रयोग गर्ने।

४. प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेशिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजनाहरु सञ्चालन गर्ने। त्यसरी निर्माण कार्य सञ्चालन गर्दा सम्बन्धित निर्माण व्यवसायीले कामदारहरुलाई Group Isolation (समूह अलगाव) गरी सुरक्षा प्रवन्ध मिलाउने।

५. प्रदेशभित्र प्रवेश गर्ने विषेश सुविधा प्राप्त सवारी साधनहरुलाई समेत प्रवेश नाकाममा Disinfect गर्ने कार्य सामाजिक विकास मन्त्रालयले नेपाल प्रहरीको समन्वयमा गर्ने गराउने।

६. सबै जनसमुदायलाई जन्म र मृत्यू संस्कारका अनिवार्य कार्यबाहेक अन्य प्रकृतिका मानिसहरु जमघट हुने धार्मिक साँस्कृतिक कार्यहरु नगर्न आग्रह गर्ने।सम्भावित जमघट स्थल र कार्यहरुमा निगरानी तथा नियन्त्रण गर्ने र सम्भावित जमघटका कारण जोखिमको आशंका देखिएका ब्यक्तिहरुलाई नियन्त्रणमा लिई परीक्षण समेत गरी क्वारेन्टाइनमा राख्ने।

७. लकडाउनलाई थप प्रभावकारी बनाउन एक गाउँबाट अर्को गाउँ समेतको आवागमनलाई नियन्त्रित गर्ने। भौतिक दूरी कायम गरी स्थानीय स्तरमा हुने कृषि तथा पशुजन्य क्रियाकलाप र स-साना विकास निर्माणका कार्यहरु सञ्चालन हुन दिने।

८. सुर्खेतको वीरेन्द्रनगरमा रहेको चार सय क्षमताको क्वारेन्टाइनलाई पूर्ण क्षमतामा सञ्चालनको तयारीका लागि र हर्रे वा बबईमा थप एकसय क्षमताको क्वारेन्टाइन स्थापनाका लागि उत्तर-पश्चिम पृतना हेडक्वाटरले आवश्यक प्रबन्ध गर्ने।

९. वन फडानी, वन र वनजन्य सामग्री तथा पशुपन्छीको सम्भावित चोरी निकाशीलाई नियन्त्रण गर्न उच्च सुरक्षा सतर्कता अपनाउने साथै यसका लागि सामुदायिक वन उपभोक्ता समिति र स्थानीय तहलाई सुरक्षा साबधानी अपनाउन आग्रह गर्ने।

१०. लकडाउनको कारण उत्पन्न असहज अवस्थाको नाजायज लाभ लिने गरी हुन सक्ने सम्भावित कालोबजारीलाई अनुगमन तथा नियन्त्रणको व्यवस्था मिलाउने।

११. मुलुकभित्रकै जोखिमयुक्त क्षेत्र (Red Zone) र भारतबाट प्रदेशभित्र प्रवेश गरेका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने बसाउने ब्यवस्था जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले मिलाउने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *