काठमाडौं । सांसद अपहरण प्रकरणमा नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षकले राष्ट्रिय मानव अधिकार आयोगका काउन्टर उजुरी दर्ता गराएका छन्। अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै आयोगमा सोमबार उजुरी दिएका हुन्।
आयोग कार्यालय हरिहर भवन पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा।सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको जिकीर गरेका छन्। आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा। यादवले बैशाख १८ गते आयोगमा उजुरी दिएका थिए। उनको उजुरीमा छानबिन सुरु नहुँदै उनीहरुले काउन्टर उजुरी दर्ता गराएका हुन्। यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआइजिपीले आफूहरुले अपहरण नगरेको भन्दै निवेदन दिएका हुन्।
महोत्तरीस्थित घरमै रहेका डा यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले बैशाख १० गते काठमाडौं ल्याएका थिए। तीनजना आयोगको कार्यालयमा पुगेर उजुरी आयोगका सदस्य प्रकाश वस्तीलाई बुझाएका छन्।




