ताजा समाचार

आँखु इन्टरप्राइजेजलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय पत्र

काठमाडौँ।स्वास्थ्य सामग्री शंकास्पद भण्डारण गरेको जनाउँदै आवश्यक कागजपत्र माग गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई कालोबजारी ऐनबमोजिम कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पठाएको छ । गत शुक्रबार अनुचित रुपमा कोभिड– १९ सँग सम्बन्धित स्वास्थ्य सामग्री शंकास्पद भण्डारण गरेको र लुकाइछिपाई बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा विभागले स्थानीय बबरमहलस्थित इ–ज्ञानकुञ्जको कार्यालयमा अनुगमन गरी बन्द गरेको थियो ।

“आवश्यक कागजपत्रसहित तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो, आज खरीद बिक्रीसम्बन्धी कागजात हेर्दा कानूनले तोकेभन्दा बढी (२० प्रतिशतभन्दा बढी) मूल्य लिई बिक्री गरेको देखियो,” विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले भने, “कालो बजारी ऐनबमोजिम कारवाहीको लागि मिसिलसहित सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पत्र पठाएका छौँ ।”
उनका अनुसार बालाजु क्षेत्रमा बिक्री पसल रहेको आँखु इन्टरप्राइजेजको भण्डारण अरु नै प्रयोजनका लागि खोलिएको र त्यसमा ६३ बाकस व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), पञ्जा, चश्मालगायत सामग्री भेटिएको थियो । विभागले कालोबजारी तथा अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम थप अनुसन्धान तथा कारवाहीका लागि जिप्रकामा पत्र पठाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *