काठमाडौँ। नेपाली काँग्रेसका करिब एक दर्जन युवा केन्द्रीय सदस्यले सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको उल्लेख गरेका छन। काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाईंले आज एक वक्तव्यमार्फत मुलुक कोरोना भाइरस सङ्क्रमणको सङ्कटमा रहेका बेला संविधानको मर्मविपरीत जारी गरिएको आरोप लगाएका छन ।
उनीहरुले अध्यादेशहरु नेपाली जनताको लामो सङ्घर्षबाट जारी भएको संविधान तथा संविधानले स्थापित गरेको व्यवस्था र लोकतान्त्रिक राजनीतिक प्रणालीभन्दा बाहिर रहेको तर्क गर्दै विरोध जनाएका छन। उनीहरुले यस अवस्थामा आफ्नो पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाउन वर्तमान अवस्थामा पार्टीभित्र वृहत् छलफल आवश्यक भएकाले अबिलम्ब काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाउन पार्टी सभापतिसमक्ष मागसमेत गरेकाे छन। लकडाउनको समयमै प्रविधिको प्रयोग गरी बैठक बस्न सम्भव रहेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले जनता महामारीको त्रास र लकडाउनले सिर्जना गरेको कष्टकर दैनिकीबाट आक्रान्त रहेको परिस्थितिमा थप जिम्मेवारीबोधसहित सबैलाई एकताबद्ध गरी महामारीसँग जुध्नुपर्नेमा जोड दिएका छन । युवा नेताहरुले अध्यादेश फिर्ता लिन सरकारसँग मागसमेत गरेका छन। साथै उनीहरुले कोरोना सङ्क्रमणको सङ्कटमा सुरक्षित रहेर सबैलाई कोरोनाविरुद्धको लडाइँमा निरन्तर लाग्न, साथ सहयोग गर्न सम्बन्धित सबैमा अपिल गरेका छन ।




