काठमाडौं ।सत्तारुढ नेकपाले पार्टीकाे सचिवालय बैठक साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाएकाे छ । राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने निर्णय भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पार्टी बिभाजनको लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने गरी विद्यमान व्यवस्थामा परिवर्तन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। मन्त्रीपरिषद्को निर्णय लगत्तै ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री वीना मगर लगायत उर्जामन्त्रालयमा भेला भएर छलफल गरेका थिए।
राजनीतिमै तरंग ल्याउने गरी सरकारले राजनीतिक दलको केन्द्रीय कमिटि वा संसदीय दलको ४० प्रतिशतले पार्टी फुटाउन पाउने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि उर्जामन्त्री पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका केही मन्त्रीहरू प्रचण्ड निवास खुमलटार पुगेका हुन्। सो बैठकमा गृहमन्त्री रामबहादुर थापा भने सहभागी थिएनन्।




