ताजा समाचार

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २४ लाखभन्दा बढी, मृतकको संख्या १ लाख ६५ हजार पुग्यो   

एजेन्सी। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार सोमबार मध्यान्हसम्ममा अमेरिकामा ४० हजार ५६५ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार विगत २४ घण्टामा अमेरिकामा मात्र १ हजार ९९७ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि अमेरिकामा १ हजार ८९१ जनाको ज्यान गएको थियो ।

अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्या र मृत्यु दर दुबैमा अझै कमी आएको छैन ।  मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यका गभर्नरहरुले लकडाउन खुकुलो बनाउन पर्याप्त ध्यान नदिएको भन्दै तिखो आलोचना गर्नु भएको छ । बन्दाबन्दीको अवस्था लम्बिएसँगै हजारौं अमेरिकीहरुले राज्यका आदेशलाई बेवास्ता गर्दै सडकमा उत्रिएका छन् ।

वासिङटन राज्यमा दुई हजारभन्दा बढी मानिसहरुले सामाजिक दूरी कायम राख्नुपर्ने नियमको बेवास्ता गर्दै राज्यको राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरुले लकडाउन जतिसक्दो चाँडो खोल्न गभर्नरसँग आग्रह गरेका थिए ।

डेन्भरमा बन्दाबन्दीको विधि कोविड–१९ भन्दा खराब रहेको प्लकार्ड सहित सहभागीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीका अनुसार बन्दाबन्दीले अमेरिकी अर्थतन्त्रमा ठूलो नोक्सान भएको र २ करोड २० लाख मानिस रोजगारविहीन भएका छन् । कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा मात्र १८ हजारभन्दा बढीको ज्यान गएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले मृतकको संख्यामा विस्तारै कमी आउन थालेको बताएका छन ।

तर अमेरिकी राष्ट्रपति ट्रम्प र गभर्नरहरुबीच स्वास्थ्य परीक्षणमा भएको ढिलासुस्तीप्रति आरोप्रत्यारोप पनि जारी छ । गभर्नरहरुले पर्याप्त स्वास्थ्य परीक्षण गर्न नसकिएको गुनासो गरेका छन् भने राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसका नाममा गभर्नरहरुले राजनीति गरिरहेको दोषारोपण गरे।

ट्रम्पले डेट्रोइट, न्यू अर्लियन्स र ह्युस्टनजस्ता शहरहरुमा कोरोना संक्रमण व्यापक रुपमा घटेको प्रमाणित भइसकेको जनाउँदै “हामी जतिसक्दो चाँडो हाम्रो मुलुकलाई खुला गर्दैछौं” भने।  अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेन जस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् ।

कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटली, स्पेन, फ्रान्स, बेलायत जस्ता समृद्ध मुलुकमा केन्द्रित छ । नेपाली कामदारको संख्या निकै बढी रहेको कतारमा कोरोनाभाइरसबाट कूल संक्रमित व्यक्तिको संख्या ५ हजार ४४८ पुगेको छ । कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार पछिल्लो पटक ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा हालसम्म ८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । कतारमा ६२ हजार ५३८ जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ । सरकारले कतारमा जारी लकडाउनलाई सम्मान गर्न आमजनतालाई आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *