पोखरा । कोरोना सङ्क्रमणबाट निको भएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाएकि छिन् । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएर घर पठाउने तयारीमा रहेकी वृद्धाले बुढेसकालमा नयाँ रोगले समाते पनि आफूले रोग जित्छु भन्ने हिम्मतअनुसार अस्पतालमा बसेको बताएकि छिन् ।
“सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ”, मनकुमारीले भनिन्,“औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु ।” नेपालमा छैटाैं कोरोना सङ्क्रमितका रुपमा रहेकी मनकुमारी कोरोना जित्ने तेस्रो व्यक्तिका भएकि छिन् । उनले कोरोना लाग्दैमा नआत्तिन अन्य सङ्क्रमितलाई समेत सुझाएकि छिन् । उनले तातोपानी खान र सरसफाइमा ध्यान दिएर अलग्गै बस्दा कोरोनाबाट बच्न सकिने अनुभव सुनाए ।
“दमको रोगी भएका कारण कोरोना जित्न मुस्किल पर्छ कि भन्ने थियो, हिम्मत हारिन आत्मबल बढाउँदै लगे अन्त्यमा कोरोनलाई जितेर घर फर्कने भएकी छु”, उनले भने । मनकुमारीले १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएको छ । उनले अन्य सङ्क्रमितलाई समेत धैर्य गरेर अस्पतालमा बस्न आग्रह गरेका छन् । आफूले घरमा समेत सरसफाइका साथ परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै पूर्वसचेतनासमेत अपनाउन पर्ने बताए ।
धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइराखेकि उनको भर्ना भएको १५औँ दिन बिहीबार तेस्रो पटक पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण स्वाबको रिजल्ट नेगेटिभ आएको र पुनःभोलिपल्ट शुक्रबार पनि स्बाब परीक्षणका लागि पठाइएकामा समेत रिपोर्ट नेगेटिभ आएका कारण बिरामीलाई कोरोना निको भएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार अस्पतालमा एक जना युवती २० दिनदेखि कोरोना सङ्क्रमितका रुपमा उपचाररत छिन् । वृद्धामा शुरुकै दिनदेखि कोरोनाको लक्षण भने देखिएको थिएन । अस्पतालले कोरोना निको भएकी महिलालाई घर पठाउने तयारीमा रहेको बताएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आउनुभएकी वृद्धालाई चैत २० गते पुष्टि भएको थियो ।
दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले घर पठाउने तयारी गरेको छ । घर पठाए पनि उहाँलाई घरमै क्वारेन्टाइनमा बस्नका लागि सल्लाह प्रदान गरिएको डा पोखरेलले बताए । “उहाँ अझै केही समय होम क्वारेन्टाइनमै बस्नुहुन्छ”, डा पोखरेलले भने, “हामीले उहाँको स्वास्थ्य अवस्थाबारे घरमै रहेका बेलामा समेत बुझ्नेछौँ ।”
उनीसँगै बेल्जियमबाट फर्किएकी अर्की सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको भने चौथो पटकको स्वाब परीक्षणसमेत पोजेटिभ आएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ ।




