कपिलबस्तु । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै यहाँका विभिन्न मस्जिद र मदरसामा आज अनुगमन गरिएको छ । मस्जिद र मदरसामा मुस्लिम जमाती लुकेर बसेको आशङ्कामा स्थानीय प्रशासनले आज अनुगमन गरेको हो ।
जिल्लाको जवाभारी, चन्द्रौटाका मस्जिद, मदरसामा अनुगमन गरिएको हो । अनुगमन गर्दा कुनै पनि मस्जिद मदरसामा शङ्कास्पद कोही पनि फेला नपरेका राष्ट्रिय मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए ।
अनुगमनका क्रममा शिवराज नगरपालिका वडा नं ८ का वडाध्यक्ष अनुपकुमार चौधरीले कुनै पनि शङ्कास्पद व्यक्ति फेला नपरेको बताए । जवाभारीको मदरसा र मस्जिदमा प्रशासनको समन्वयमा ताला लागाइएकाले बाहिरी मान्छे आउने समाचार निराधार रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।
राष्ट्रिय मदरसा सङ्घका अध्यक्ष डा अब्दुल गनी अलकुफीले शिक्षा जस्तो पवित्रास्थलमा बहिरी मान्छेलाई आश्रय दिने काम गलत भएको बताए । चन्द्रौटामा रहेको मदरसामा अनुगमन गर्दा कुनै पनि जमाती नभेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले प्रहरी र प्रशासन लगाएर खोजतलास गरिएको तर अहिलेसम्म केही फेला नपरेको बताए । उनले एक जना पाकिस्तानी नागरिक फेला परेका र उनी माघमा कानूनी तरिकाले नेपाल प्रवेश गरेको प्रमाण फेला परेको बताए । जिल्लाका मुस्लिम अगुवा, निर्वाचित प्रतिनिधि, प्रहरी प्रशासन पत्रकारको टोलीले मदरसाको अनुगमन गरेको हो ।




