विकास मानव सभ्यताको परिवर्तन कारक र महत्वपूर्ण पक्ष हो । मानिसको सोंच, चिन्तन, जिज्ञासा, खोजी, अनुसन्धान र प्राविधीका कारणले मानव जीवन शैलीको धेरै विकास भएको छ । तर, हरेक विकासशील क्रियाकलापले यो पृथ्वीमा सधैं अनुकुल र सकारात्मक प्रभाव मात्र गर्छ भन्ने हुँदैन । तसर्थ हामीले यसको नकारात्मक पक्षलाई भुल्नु हँुदैन । प्रकृतिसँग समन्वय गर्दै वातावरण मैत्री हुनु आजको आवश्यकता हो ।
तर, समय परिवर्तनशील छ । अति भौतिकवादी सोंच ! समय, सस्कृति र सभ्यताको नदेखिदो शत्रु हो । पञ्च तत्वको (जल वायु, पृथ्वी, अग्नि, आकाश) सन्तुलनलाई आत्मसात गर्दै विज्ञान परक अध्यात्मिक झुकाव युक्त जीवनशैली कुनै समयको पूर्वीय दर्शन (दक्षिण एशिया देशहरूले नेपाल, भारत, भुटान लगयत देशहरु) भित्रको कानुन थियो । हरेक कार्य धर्म, प्रकृति र वातावरण मैत्री हुनु नै पूर्वीय दर्शनको श्रृंगार थियो । पिपलको बोट र तुलसीको महत्व होस् अथवा गाई, दुध गोबर र मुत्र किन नहोस् । शंख ध्वनि होस् व दीप र घण्टीको महत्व नै किन नहोस् । बिहानी स्नान होस् या भोजनको समय चोखो वस्त्रको भूमिक किन नहोस् । केस मुन्डनमा टुपीको भूमिक होस वा ठूलो हवन र यज्ञ किन नहोस् । योग, आयुर्वेद र प्रकृतिक चिकित्सा यावत् त्यस समयका हरेक कार्य आजको आधुनिक विज्ञान र वैज्ञानिकको कल्पना भन्दा माथि थियो । त्यस बेलाको विकासको चर्चा र कहानी आजको विज्ञानका लागि चुनौती जस्तै थियो । आजका धेरै आधुनिक मानिने आविस्कारहरु त्यो समय व्याख्या गरिएको ग्रन्थ, उपदेश, सभ्यता र कथाको आधुनिक अविस्कार हो भन्दा गलत नहोला ।
राम्रो र नराम्रो, खराव र असल, मूर्ख र ज्ञानि, अनुकुल र प्रतिकुल जस्ता धेरै अन्तरनिर्मित अवस्था सृष्टीको सन्तुलनको महत्वपूर्ण पक्षहरु हुन् । जब यस्ता पक्षहरूमध्य कुनै एक अन्तर निर्मित पक्षको क्रियाशीलताले आफ्नो दायरा भुल्छ तब जीवन शैली समस्यामा पर्छ । जसको मुल्य हामी प्रकृतिमा निहित ब्यक्ति, जैविक, भौतिक र आध्यात्मिक पक्षले भोग्नु पर्छ । हामीले नै प्रकृति विरुद्धका कदमहरुलाई हाम्रो विकासे (हाइब्रेट) जीवनमा अभिन्न अङ्ग बनाएको कारण आज प्रकृतिको सन्तुलन भंग हुन पुगेको छ । हामीले जीवन जीउने धर्म भुलेका छौं । विज्ञानको स्वीकार्यले महान् अनि वैज्ञानिक भनेको जीवनशैली र सस्कृति बिस्तारै नाशिंदै छ ।
केही दशक देखि पूर्वीय दर्शन, यसले सिकाएको धर्म (जीवन जिउने कानुन), जीवनशैली र कला सस्कृतिमाथि धेरै हमला भएका छन् । हामी पूर्वीय दर्शन र धर्मका पु्र्खा एवं अनुययी बिस्तरै पूर्वीय दर्शनप्रति कमजोर हुँदै गएको समयमा उग्र विकासक्रमलाई मान्यता दिने सभ्यताहरु आज पूर्वीय दर्शन सामु झुकेका छन् । कोरोना माहामरीको कारण विश्वले नै हाम्रो पूर्वीय सभ्यताको खुल्ला प्रशंसा गर्न थालेका छन् । तर हामी आफ्नै सभ्यताको पहिचानबाट दिनहँु टाढिँदै छौं । किनकी हामी अतिभौतिकवादी सोच र जीवनशैली युक्त बिलासितामा बिस्तारै लिप्त हुँदै छौं ।




