कला/साहित्य

निद्राबाट झस्किंदा

१.

गहिरो ताल

पौडी खेल्ने रहर

आँट गरेको

हाम फ्याली हेरेको

पाखा लाग्नै हतार ।

२.

हिमाल पारि

दु:ख कष्ट सम्झंदा

आँसुको धारा

हिउँले छोप्दा वस्ती

बाधिएको सपना ।

३.

आकास खुल्दा

प्रकृति नै हाँसेछ

समयचक्र

बलमान समय

रोकेर रोकिदैन ।

४.

पारिलो घाम

मस्तसँग निधाएँ

हल्ले छ मन

निद्राबाट झस्किंदा

उत्तानो पर्दै रोएँ ।

५.

समुन्द्री पानी

शान्त सफा देखेर

निलेको थुक

प्यास लागेको बेला

सम्झेर चित्त बुझ्दा ।

६.

चर्केको घाम

पसिनाले निथ्रुक्क

थाकेको मन

खोजेको शीतलता

गन्तव्य मरभूमी ।

७.

चिसो बतास

हिउँको ढिक्का खसी

पानीको रुप

प्रकृति नै अचम्म

घोत्लिँदै सोच्न बाध्य ।

८.

खुल्ला आकाश

सफा वातावरण

निलो रङ्गमा

बादलको झम्टाई

झटारो असिनाको ।

९.

शीतल हावा

चौतारीमा बसेर

थकान मेट्दा

स्वच्छ हावा बग्दामा

श्वास प्रश्वास स्फुर्ति ।

१०.

हिमाल हाँस्दा

पुलकित सौन्दर्य

मन नै लोभी

टल्केको उज्यालोमा

कैद बनेको दृश्य ।

११.

पानीको वर्षा

भिजेको माटो फोड्दै

टुसा उम्रेको

विरुवा बन्दै रुख

बुझेँ जीवनचक्र ।

१२.

शीतको थोपा

तपतपी चुहेर

जमिन भिज्दा

चिस्सिएको मौसम

घामको न्यानो स्पर्श ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *