काठमाडौं । नेपालको खानेपानी,सरसफाई, स्वास्थ्य र स्वच्छताको क्षेत्रमा कार्यरत विज्ञहरुले यस क्षेत्रको नेतृत्व लिने व्यक्तित्वको अभाव खट्केको बताएका छन् ।
स्मार्ट वास सोलुसन्स प्रा.लि.को आयोजनामा बुधबार राजधानीमा भएको यस क्षेत्रका विज्ञहरुको भिडियो कम्फरेन्सका वक्ता तथा सहभागीहरुले मानिसको बाँच्ने अधिकारसंग जोडिएको र संविधानले मौलिक हकमा समावेश गरेको स्वच्छ र शुद्ध खानेपानीको पर्याप्त मात्रामा पुर्याउने काममा समर्पित नेता नेपालले पाउन नसकेको गुनासो गरेका थिए ।
सो छलफलमा स्रोतव्यक्तिको रुपमा उपस्थित भएका एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष तथा एशिया वाटर काउन्सीलका सल्लाहकार डा. बिन्दुनाथ लोहनीले भने, ‘खानेपानीको नेतृत्व त्यतिबेला सफल मानिन्छ, जब सबैले आफूलाई चाहिएजति गुणस्तरीय पानी पाउने बातावरण सुनिश्चित हुन्छ । हामीले नेपालमा यस्तो अवस्था पाइरहेका छैनौ ।’
उनले अमेरिकाका पूर्वराष्ट्रपति जोन अफ केनेडीको एक कथन उद्घृत गर्दै भने, ‘उनले पानीको समस्या समाधान गर्नेलाई दुईवटा नोबल पुरस्कार दिनुपर्ने धारणा व्यक्त गरे । पानीका कारण संसारमा धेरै द्धन्द्धभएकोले यो सममस्या समाधान हुँदा विश्वमा शान्ति आउछ र यसको समाधान गर्ने नेतृत्व शान्तिको हकदार हुन्छ । पानीसंग विज्ञान र प्रविधिको विकास र आविश्कारको सम्बन्ध छ, उ विज्ञानको पनि हकदार हुन्छ ।’
वास सेक्टर एण्ड कोभिड १९ को नाम दिइएको सो भिडियो कन्फरेन्समा बोल्दै डा.लोहनीले कोरोना भाइरस संक्रमणको यो नयाँ संकटले नेपालमा पनि सरकारलाई राहत र पुनरुत्थान कार्यक्रम ल्याउन प्रेरित गर्ने र यस्तो कार्यक्रमले हात धुने बानी, खानेबानी, स्वास्थ्य तथा सरसफाईका हरेक क्षेत्रमा मार्ग निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याउन सघाउने बताए ।
उनले घरायसी फोहर व्यवस्थापन, नगरीय फोहर व्यवस्थापन,अस्पताल र औद्योगिक क्षेत्रको फोहरमैला व्यवस्थापनमा नीति तथा प्रक्रियागत सुधार ल्याउन पनि यो संकटले अवसर सिर्जना गरेको बताए। उनले यो संकटले नेपाललाई आफ्नै क्लारिनेश प्लान्ट स्थापना गर्न शिक्षा दिएको बताउदै भने, ‘क्लोरिनको उपलब्धता बिना स्वच्छ र शुद्धपानीको वितरण कतिको सभव छ ?
कार्यक्रममा प्रविधिका प्रबर्धनमा संलग्न मंगेशलाल श्रेष्ठले कोरोना भाइरसको संक्रमणले निम्त्याएको संकटले प्रविधिको विकास,विस्ता र उपयोगमा अवसर सिर्जना भएको बताउनुभयो । नेपालमा पनि लकडाउन पछि अनलाईनबाट काम गर्ने र घरबाटै काम गर्ने संस्कार बढेको बताउदै उनले भने, जोखिम भएका र अत्यावश्यक क्षेत्रमा ड्रोन र रोबोटहरुबाट काम लिने प्रवृत्ति बढ्दो छ । स्वास्थ्य परीक्षण र रिपोर्टिड.मा डिजिटल प्रविधिको उपयोग भएको छ । खाद्यान्न र अत्यावश्यक सेवाहरु आपूर्तिमा नयाँ उपायहरुको खोजी भएको छ । यो संकटले विज्ञान र प्रविधिको विकास,विस्तार र उपयोगलाई व्यापक बनाएको छ ।
कार्यक्रममा खानेपानी क्षेत्रका विज्ञ डा.दिनेश मानन्धरले कोभिडले कोरोनाभाइरसबाट बच्न एकापसको सम्पर्क कम गर्ने र दूरी कायम गर्नपर्ने कुराले खानेपानी र सरसफाईको क्षेत्रमा सूचना,सञ्चार र प्रविधिको व्यापक प्रयोग बढाउनु पर्ने अवसर सिर्जना गरेको बताए । उनले खानेपानीको उत्पादन,प्रशोधन,वितरण र महसुल भुक्तानीमा स्मार्ट प्रविधि अपनाउन आवश्यक भएको पनि उल्लेख गरे । यो संकटले खानेपानी, उपयोग भैसकेको पानी, ढल र उद्योगबाट निसृत पानीको समुचित प्रशोधन, शहरी फोहरमैला र अस्पतालका फोहरमैलाको सुव्यवस्थापन जस्ता क्षेत्रमा नीति निर्माता र सबै तहका सरकारहरुको ध्यानाकर्षण गरेको पनि बताए ।
कार्यक्रममा सहभागी पूर्व सचिव ई. किशोर थापाले यो संकटले खानेपानीको उपलब्धता,आपूर्ति र गुणस्तरबारे सोच्न सबै तहका सरकारहरुलाई बाध्य बनाएको बताए । हात धुने सन्देश दिंदा पानी उपलब्ध गराउन सबै तहमा दवाव बढेको उल्लेख गर्दै उनले भने, ‘सरकारी निकायले वितरणगर्ने पानीमा न्यूनतम् गुणस्तर कायम होला तर निजी क्षेत्रले उत्पादन र वितरण गरिरहेको पानीको गुणस्तर कसले हेरेको छ ? इनार र ट्यूबवेलको पानीको गुणस्तर के छ ?
उहाँले धेरै जनाले प्रयोग गर्ने चर्पी(ट्वाइलेट)का बारेमा पनि मार्गनिर्देशिका अत्यावश्यक भैसकेको उल्लेख गरे ।’
पूर्व सचिव रहका ई.थापाले कम पानीबाट हातधुने प्रविधि विकास गर्न र पानीबाट सर्ने रोगहरुबाट आम नागरिकलाई जोगाउन यस क्षेत्रका विज्ञ ,अनुसन्धानकर्ता र अभ्यासकर्ताहरुले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका अर्का सहभागी राष्ट्रिय नीति प्रतिष्ठानका अध्यक्ष डा. विष्णुराज उप्रेतीले संविधानले मौलिक हक अन्तरगत राखेका स्वास्थ्य र शिक्षाका बारेमा विशेष ध्यान दिनुपर्ने बताए।स्मार्ट वासका अध्यक्ष ई. रामदीप साहको अग्रसरतामा भएको सो भिडियो कन्फरेन्सको सहजीकरण पूर्वमन्त्री ई.गणेश साहले गरेका थिए ।




