रोल्पा । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आफ्नो गृह जिल्ला रोल्पाका लागि दोश्रो पटक आवस्यक स्वास्थ्य सामाग्री पठाएका छन् । जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव भइरहेको बेला स्वास्थ्य सामाग्री पाएपछि स्वास्थ्यकर्मीहरुले काममा केही सहजता हुने बताएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि मन्त्री पुनले दोश्रो पटक स्वास्थ्य सामाग्री गृह जिल्ला पठाएका हुन् । मन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले मंगलवार ती स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय रोल्पालाई हस्तान्तरण गरेका थिए ।
मन्त्री पुनले रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल मार्फत जिल्लाका १० वटै पालिका र रोल्पा अस्पतालका लागि स्वास्थ्य सामाग्री पठाएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार मन्त्री पुनले आफ्नो ब्यक्तिगत लगानीमा तथा स्वास्थ्य सेवा विभाग मार्फत स्वास्थ्य सामाग्री रोल्पा पठाएका हुन् ।
जस अन्तर्गत मन्त्री पुनले आफ्नो ब्यक्तिगत लगानीमा ९० थान र स्वास्थ्य सेवा विभागबाट १० थान गरी १ सय थान पीपीई सेट, आफ्नो तर्फबाट १ हजार थान र स्वास्थ्य सेवा विभागबाट ५० थान गरी १ हजार ५० थान पञ्जा, आफ्नो तर्फबाट ८ थान र स्वास्थ्य सेवा विभागबाट ५ थान गरी १३ थान सेनिटाइजर र आफ्नो ब्यक्तिगत तर्फबाट १ हजार थान माक्स पठाएका हुन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव खड्किरहेकै बेला मन्त्री पुनले अत्यावस्यक स्वास्थ्य सामाग्री रोल्पा पठाएका छन् ।
यसैगरी मन्त्री पुनले गृह जिल्ला रोल्पाका लागि आफ्नो ब्यक्तिगत लगानीमा ४० थान पीपीई, १० थान क्ष्च् थर्ममिटर र ४ हजार थान माक्स यस अघिपनि पनि पठाइसेकको सहायक प्रजिअ केसीले जानकारी दिए ।




