ताजा समाचार

साँझ बिहान चुल्हो नजल्ने परिवारलाई राहत

रोल्पा । अभाव र गरिवीका कारण साँझ बिहान चुल्हो नजल्ने परिवारलाई रोल्पा नगरपालिकाले राहत वितरण शुरु गरेको छ । मंगलबार प्रदेश सांसद दिपेन्द्र पुनले सदरमुकामबाट औपचारिक रुपमा राहत वितरण कार्यक्रमको शुरुवात गर्नुभएको रोल्पा नगरपालिकाले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लक डाउनको घोषणा गरेसंगै आयश्रोतको अभावका कारण सकसमा परेका अशक्त, अपांग, असहाय, अति बिपन्न तथा दैनिक ज्याला मजदुरीमा जीवन यापन गरिरहेका परिवारलाई राहत बितरण शुरु गरिएको हो ।


लकडाउनका कारण आयश्रोतका बाटाहरु ठप्प भएपछि जनताको अभाव र गरिवीलाई महसुस गर्दै राहत बितरण गर्नुपरेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । उनका अनुसार न्यायोचित तरिकाबाट राहत बितरण गर्नका लागि सम्वन्धीत वडाका आमा समूह, वन समूह तथा स्थानीय बासिन्दाको सिफारिस पछिमात्र वडा कार्यालयले राहत बितरण गर्ने गरेको छ ।
राहत वितरणका लागि नगरपालिकाले १ सय क्वीन्टल चामल, ५ क्वीन्टल दाल, ५ क्वीन्टल नुन, ५ सय लिटर तेल खरिदगरी सबै वडाहरुमा पठाइसकेको छ । रोल्पा नपाका १० वटै वडाका करिब २ सय ८० घरधुरीलाई राहत बितरण गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
राहत अन्तर्गत १ किलो नून, १ किलो दाल र अधा लिटर तेल सहित कुनैब्यक्ति परिवारमा एक्लै छभने ५ किलो चामल, संयुक्त परिवारमा भए प्रतिब्यक्ति ३ किलोका दरले चामल बितरण गरिन्छ । राहत बितरणका क्रममा नछुट्नुपर्ने ब्यक्ति कोही कतै छुट्न गएमा पूनः संबोधन गर्न सकिने नगर प्रमुख केसीले बताए ।
यसका साथै रोल्पा नगरपालिकाको “विपद् ब्यवस्थापन कोषमा” इच्छा अनुसार सहयोग गर्न नगरप्रमुख केसीले उद्योगी, ब्यापारी लगायत सबैलाई अनुरोध गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *