ताजा समाचार

कोरोना रोकथाम तथा नियन्त्रणका लागि रोल्पामा कमाण्ड पोष्टको बैठक

रोल्पा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि रोल्पामा जिल्ला सुरक्षा समिति तथा कमाण्ड पोष्ट (बिपद् ब्यवस्थापन केन्द्र) को बैठक सम्पन्न भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय रोल्पामा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललकोे संयोजकत्वमा बैठक सम्पन्न भएको हो । बैठकमा बोल्दै प्रजिअ ढकालले जिल्लामा हालसम्म कुनैपनि ब्यक्तिमा संक्रमण नदेखिएको भएपनि एक ब्यक्तिबाट अर्कोब्यक्ति तथा बैदेशिक रोजगारीबाट गृह जिल्ला फर्कनेहरुसंग संक्रमण भित्रिन सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु जारी राखिएको जानकारी दिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व त्रसित भइरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा विभिन्न उपायहरु अपनाउन थालिएको उनको भनाइ छ । सोमबार सम्पन्न कमाण्ड पोष्टको बैठकले विभिन्न निर्णयहरु समेत गरेको जनाएको छ ।


जस अनुसार, यो संकटको घडीमा सामान्य अवस्थामा नै सरोकारवाला ब्यक्तिहरुलाई फोनबाटै परामर्श सेवा प्रदान गर्नका लागि स्वास्थ्य कार्यालय तथा रोल्पा अस्पतालबाट प्रबन्ध मिलाउने । क्वारेन्टाइन एरियामा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउनका लागि सेवा प्रदायकहरुलाई अनुरोध गर्ने, क्वारेनटाइन र आइसोलेसनमा भर्ना भएका बिरामीलाई सन्तुलित आहार तथा फलफूल बितरणका लागि उद्योग बाणिज्य संघ, स्थानीय रेडक्रस र स्थानीय तहले आवस्यक प्रवन्ध गर्ने, जिल्लामा रहेका एम्बुलेन्स चालकहरुले एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न तथा संभावित संक्रमितहरुलाई सिफारिस गरिएको स्थानसम्म सुरक्षित रुपमा पु¥याउनका लागि चालकहरुलाई आवस्यकता अनुसार नेपाल रेडक्रस सोसाइटी रोल्पाको संयोजन तथा स्वास्थ्य कार्यालय रोल्पाको समन्वयमा मनोपरामर्श सेवा प्रदान गर्ने, सम्वन्धित स्थानीय तहको संयोजनमा नेपाली सेना, खड्गदल गण तथा जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा कोरोना संभावित र प्रभावित भएका ब्यक्तिलाई अस्पताल सम्म पु¥याउने वा अस्पताल राख्ने ब्यवस्थाका लागि ¥यापिड एक्सन टीम बनाउने, सबै स्थानीय तहले आआफ्नो वडा कार्यालय मार्फत अति बिपन्न र बिपन्न परिवारको लगत यथासीघ्र संकलन गरी आवस्यकीय सामाग्री वितरण गर्न अनुरोध गर्ने लगायतका निर्णयहरु भएका छन् ।


बैठकमा सरोकारवालाहरुका वीच बृहत छलफल भएको थियो । छलफलका क्रममा स्वास्थ्य प्रमुख अनिल केसीले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु, नेकपा तथा नेपाली कांग्रेसका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग बाणिज्य संघ एवम् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका प्रमुख तथा प्रतिनिधिहरु, स्वाथ्यकर्मी, पत्रकार लगायत सरोकारवालाहरु समेतको सक्रिय उपस्थिती रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *