ताजा समाचार

लकडाउनले भोटखोलामा खाद्य संकट

सङ्‍खुवासभा।नेपालको उत्तरी सीमानामा रहेको भोटखोला गाउँपालिकामा छिमेकी मित्रराष्ट्र चीनले ३ महिना अघिदेखि कोरोना भाईरस संक्रमण फैलन सक्ने भन्दै नेपालको किमाथांका नाका प्रवेश गर्ने चीनको चांङ्गा बजारमा रहेको नेपाल प्रवेश मार्ग बन्द गरेपछि संखुवासभाको उत्तरी क्षेत्रको भोटखोला गाउँपालिकामा यतिखेर खाद्य संकटको अवस्था सिर्जना भएको छ ।

जिल्लाको सदरमुकाम खाँदवारीबाट ४ दिनको पैदल दुरीमा पर्ने चिनको सिमानामा रहेको भोटखोला २ को अति दुर्गम क्षेत्र थुदाम, रिदाक र छुमसुरमा खाद्य संकटको अवस्था आएको भोटखोला २ का वडा अध्यक्ष छिरिङ्ग छेदर भोटेले जानकारी दिए । उनका अनुसार वडा भित्रका २ सय २८ घरधुरीले यतिखरेर खाद्य संकटको मारमा परेका छन् ।  खाद्यान्न संकट टार्न भोटखोला गाउँपालिकासँको समन्वयमा वडाले राहतको कार्यक्रम अघि बढाएको समेत वडा अध्यक्ष भोटेले जानकारी दिए । हालको संकट टार्न वडाले प्रतिघर २ बोरा चामल र २५ केजी नुन, खाने तेल, सावुन र माक्स पाउने गरि गाउँपालिकाले ढुवानीमा राहत दिने निर्णय गरेसँगै सामग्री ढुवानी शुरु गरिएको वडा अध्यक्ष भोटेले जानकारी दिए । करिव ३ दिनको पैदल दुरीमा रहेको सदरमुकाम खाँदबारीबाट खाद्यान्न समेत ढुवानी गरिसकिएकाले हप्ता दिन भित्र त्यस क्षेत्रमा राहतका सामग्री बितरण गरिने वडा अध्यक्ष भोटेले बताए । अहिले गाउँपालिकाले ढुवानी खर्चमात्रै ब्यहोरेकाले त्यस क्षेत्रका गरिव¸ विपन्न वडावासीहरुलाई खासै राहत कार्यक्रमले नछुने समेत उनको तर्क रहेकोछ ।

चीनले गत माघ ५ गते देखि कोरोना फैलन संत्रासले पुर्ण रुपमा नाकामा बन्द गरेपछि भोटखोला र मकालु गाउँपालिकाका केहि क्षेत्रमा समेत खाद्यान्न संकट आएको भोटखोलाका अध्यक्ष तेम्बा (ठिलेन) भोटेले जानकारी दिए । अहिले त्यस क्षेत्रमा चामल, नुन¸ तेल लगायत अत्यावश्यक उपभोग्य सामग्रीहरु सकिएको छ । चिनले नाका बन्द गरेपनि त्यस क्षेत्रका बासिन्दा ४ दिनको दुरीमा रहेको सदरमुकाम खाँदबारीसँग आश्रीत रहँदै आएका छन् । अहिले सरकारले लकडाउन गरेको नवौँ दिन वितिसक्दा त्यस क्षेत्रमा थप संकट निम्तिएको अध्यक्ष भोटेले बताए । पालिका अध्यक्ष भोटेका अनुसार भोटखोलाको अधिकांश क्षेत्रमा खाद्य संकट देखिएकाले तत्काल सहयोग गर्न प्रदेश सरकार र संघिय सरकारलाई आग्रह गरेपनि सुनुवाई नभएको भन्दै आक्रोस समेत पोखे । उनका अनुसार चिन सरकार संगको सहकार्यमा खाद्यान्न आपुर्तिको ब्यवस्था मिलाउन नेपाल सरकारलाई थप आग्रह समेत गरेका छन । हामीलाई कित नेपाल सरकारले हेर्नूपर्र्यो कि त चीन सरकारसँग खाद्यान्न आपुर्तिको ब्यवस्था मिलाउन पहल गरिदिनु पर्र्यो भोटखोला पालिका अध्यक्ष भोटेले सञ्चारकर्मीसँग गुनासाे गरे ।

यस क्षेत्रमा खाद्यान्न उत्पादन हुने नाममा कोदो र मकै उब्जाउ हुन्थ्यो त्यो पनि केहि महिना अघिको असिना पानी¸ हिउँ¸ हावाहुरीले सवै खाईदिए पछि अहिले त्यस क्षेत्रका रिदाक, किमाथांका, थुदाम छुमसुर, सहित चेपुवा, हटिया, च्याम्ताङ्ग, हुङ्गुङ, सिप्रुङ गोला¸ नामासे, , पावाखोला लगायतका गाउँमा बसोबास गर्ने जनताहरुलाई लकडाउनले खाद्यान्न संकटको बिकराल रुप लिन सक्ने गाउँपालिका अध्यक्ष भोटेले बताए। यस सम्बन्धमा त्यस क्षेत्रमा लकडाउनले निम्त्याएको खाद्य संकटका विषयमा जिल्ला सुरक्षा समितिसँग सम्पर्क गर्दा त्यस क्षेत्रका जनतामा पर्नसक्ने संकटलाई मध्यनजर गर्दै राहतका सामग्री ढुवानीमा अनुमति प्रदान गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाले जानकारी दिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *