काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेका छन । महामन्त्री कोइरालाले आज एक विज्ञप्ति जारी गर्दैै विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नोबेल कोभिड–१९ सँग जुध्न सरकारले गरेका प्रयत्नलाई परिणामुखी बनाउन आग्रह गरेका हुन। “लकडाउनलाई अझै बढी प्रभावकारी बनाउन यसको उदेश्य र असरको बारेमा सचेतना फैलाउनु जरुरी छ”, महामन्त्री कोइरालाले भने ।
महामन्त्री कोइरालाले सरकारले हालसम्म कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरेका कतिपय कार्य परिणाममुखी नभएको भन्दै प्रभावकािरता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेकाले सरकारको ध्यानाकर्षणसमेत गराएका छन । “अतिआवश्यक स्वास्थ्य उपकरणको खरिद प्रक्रिया विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाण सञ्चारमाध्यमबाट आइरहेकाले यसको बारेमा निष्पक्ष छानबिन हुनुपर्छ”, महामन्त्री कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले अहिलेको समयमा आकस्मिक सेवा पाउनुपर्ने बिरामीले समेत समयमा उपचार नपाएको भन्दै यस्ता बिरामीप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आयस्तरका नागरिकको राहात प्याकेज वितरणमा अझ बढी संवेदनशील भएर व्यवहारमा उतार्न सरकारलाई आग्रह गरेका छन। स्थानीय निकायमार्फत तत्काल राहत सामग्री गरिब जनतासम्म पुर्याउनुपर्ने उनको भनाइ छ ।
महामन्त्री कोइरालाले विश्वभर रहेर नेपाल फर्कन चाहेका नेपाली नागरिकलाई कूटनीतिक पहलमार्फत स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन । उनले लकडाउनमा घरभित्र बसेका जनतालाई सङ्क्रमणको कुनै आशङ्का देखिए घरबाटै सावधानीपूर्वक परिक्षण केन्द्रसम्म पुर्याउने व्यवस्था मिलाउनुपर्ने बताएका छन । महामन्त्री कोइरालाले स्वास्थ्यप्रति सचेत रहँदै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन देशवासीलाई आग्रहसमेत गरेका छन ।




