ताजा समाचार

अत्यावश्यक सामग्री नपाउँदा जीवन कष्टकर  

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा बजारमा अत्यावश्यक खाद्य सामग्री नपाउँदा जीवन कष्टकर बन्न थालेको उपभोक्ताको गुनासो छ ।

लकडाउनको १०औँ दिन पूरा हुँदा यसअघि घरघरमा भएको खाद्य सामग्री सकिएर खोज्न बजार गए पनि अत्यावश्यक चिनी, नून, ग्यास, चामल, पीठो, चिउरालगायत वस्तु सहजरुपमा पाउन नसकिएको काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध महाङ्कालका डोमा शेर्पाले गुनासो गरिन।

बिहान बेलुका केहीबेर सीमित पसल खुल्ने गरेकामा घरमा आवश्यक सामान माग्दा सकिएको भनी व्यापारीले बताउने गरेका उनले गुनासाे सुनाइन । पसलमा समेत होलसेलबाट सामान नआउँदा बिक्री वितरण हुन सकेको छैन । गोकर्णेश्वर नगरपालिका वडा नं २ मा किराना पसल व्यवसाय गरिरहेका मदन श्रेष्ठ होलसेलबाट सामान ल्याउनु नै चुनौतीपूर्ण बन्न लागेको बताए  । पसलमा सामान आए उपभोक्तालाई दिन समस्या नहरेको व्यवसायीको भनाइ छ ।

आपूर्ति सहज नभएको भन्दै होलसेल व्यवसायीले पनि सामान दिन मानेका छैनन् । होलसेलमा भण्डार गरिएको सामान सकिएको होलसेल व्यवसायीको गुनासो हुने गरेको छ । सरकारले ग्यास आयात भइरहेको भन्दाभन्दै आधा सिलिण्डरमात्र दिनुले बजारको अवस्था बुझ्न सकिने उनको भनाइ छ । अघिल्लो दिनसम्म ग्यास आपूर्ति सहजरुपमा भइरहेको छ मौज्दात राख्नुपर्दैन भन्ने सरकारी नियन्त्रणको नेपाल आयल निगमले नै बजारको वर्तमान वातावरण चित्रित गर्ने व्यवसायी श्रेष्ठको बुझाइ छ ।

डिपार्टमेन्टल स्टोरलाई घरघरमा सामान पु¥याउन लगाउने भनी घोषणा गरिएकामा त्यो प्रभावकारी हुन नसकेको उपभोक्ता बताउँछन् । उपभोक्ता मञ्चका उपाध्यक्ष रोशन पोखरेल सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले अत्यावश्यक सामग्री जुटाइदिने घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्थाबाट गुज्रिएकाले लकडाउनमा उपभोग्य वस्तु पाउन कठिन भएको बताउछन ।

लैङ्गिक भेदभावको गुनासो   

यसैबीच बिरामीलाई अत्यावश्यक सेवाको औषधि पुर्याएर फर्कंदा प्रहरीले आधा घण्टासम्म नियन्त्रणमा लिएर दुःख दिएको कामनपा वडा नं ७ चाबहिलका राजेन्द्र डङ्गोलले गुनासो गरे । महानगरीय प्रहरी बिट महाङ्कालअघि खटिएका प्रहरीले मोबाइलमा औषधि माग भएको सन्देश देखाउँदा नहेरी नियन्त्रणमा लिएको उनकाे गुनासो छ ।

“मेडिकलमा जचाँउन जान लागेको भनी हिँडेका महिलालाई कार्ड नहेरी छाड्ने प्रहरीले हामीलाई भने मोबाइलमा प्राप्त सन्देश देखाउन खोज्दा उल्टै भर्खर टाइप गरेको भनी हपारे, स्कुटी चढेर आएकी एक महिलालाई चाबहिलसम्म जान लागेको भनी छोडियो, चाबहिलमै जान लागेका स्कुटरमा सवार अर्का पुरुषलाई भने हामीसँगै रोकियो, प्रहरीले लिङ्गका आधारमा भेदभाव गरेको छ”, डङ्गोलको दुःखेसो छ ।

लकडाउन लम्ब्याउन निर्णय गर्ने सरकारले अत्यावश्यक सामग्री उपलब्ध गराउन भने पहल नगरेको सडकमा निस्कनेले गुनासो गर्न थालेका छन् । विदेशबाट आउनेलाई खुलारुपमा हिँड्न दिइराखे लकडाउन अनन्तकालसम्म लम्ब्याउनु पर्ने अवस्था आउने गुनासो नागरिकको छ । सीमानाका र हवाईसेवा बन्द गरी यसअघि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखे फेरि ‘लकडाउन’ थप्नुनपर्ने सुझाव औषधि लिएर फर्कनुभएका गोकर्णेश्वर नगरपालिका–४ का सुवर्ण श्रेष्ठले दिए ।

अत्यावश्यक सामग्री नपाउँदा गुनासो गर्न सरकारले व्यवस्था गरेको निःशुल्क फोन नं ११३७ मा दैनिक ९०० सम्म गुनासो आउने गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यी गुनासो सम्बोधनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने गरेको जनाइएको छ ।

स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा अनुगमन समितिको व्यवस्था भए पनि विपद्का बेला काम गर्न नसकेको गुनासो कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का श्याम पुडासैनीको छ । जनताका समस्यामा नजिकको स्थानीय सरकारको पहल बढी हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन । जिम्मेवार जनप्रतिनिधि फोनसमेत नउठाइ लकडाउनमा बसेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *