सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका दश वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएकोे छ । कर्णालीका तीन जिल्ला डोल्पा, हुम्ला र मुगुमा सङ्घीय सरकारबाट प्राप्त स्वास्थ्य साम्रगी हस्तान्तण गर्न मंगलबार मुगु पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको युद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाका लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्न लागेको बताए।
अझै सशक्तरुपमा कोराना भाइरसका विरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगार भएर बसेका जनशक्तिलाई करार भर्ना गर्ने उनको भनाइ छ । स्थानीयतहसँग समन्वय गरी प्रदेश सरकारले वडा स्तरमा सहयोेगी समिति गठन गर्ने उल्लेख गर्दै उनले सो समितिले शङ्कास्पद बिरामीको पहिचान गरी क्वारेन्टाइनमा राख्ने बताए ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा जहाँ बिरामी भेटिन्छ त्यही उपचार गरेर ठीक पार्ने रणनीति लिएको छ । “जुन घरमा, जुन टोलमा, जुनगाउँ वडामा रोग फैलिन्छ त्यही सम्पूर्ण जनशक्ति केन्द्रीत गरेर ठीक पार्ने योजनाका साथ कर्णाली प्रदेश सरकार लागेको छ”, मुख्यमन्त्री शाहीले भने । ग्रामीण भेग यातायतको पुहँच नपुगेका स्थानबाट शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न परेमा हेलिकप्टरको प्रयोग गरिने उनले जानकारी दिए ।
कोराना भाइरसको युद्ध लडिरहेका बेला कर्मचारीलाई हारमानी पछि नहट्न मुख्यमन्त्री शाहीले आग्रह गर्नुभएको छ । शाहीले भाइरसविरुद्ध लड्ने स्वास्थ्य कर्मचारीलाई सतप्रतिशत तलब बढाउने र सुरक्षाकर्मीलाई ५० प्रतिशत तथ तलब उपलब्ध गराउने बताए ।




